नगरपालिकाले मोबाइल फाेन दिएपछि बढ्याे स्वास्थ्य स्वयंसेविकाकाे व्यस्तता
महोत्तरी : हातहातमा मोबाइल फोन भएपछि मटिहानी नगरपालिकाका स्वास्थ्य स्वयंसेविकाले दिने सेवा सहज भएको छ। नगरपालिकाले दिएको मोबाइलबाट बस्तीका गृहिणीको समस्या सुन्न, बुझ्न, आवश्यक परामर्श दिन र सेवा दिने काम सहज भएको स्वास्थ्य स्वयंसेविकाहरूले बताएका हुन्।
अन्तर्राष्ट्रिय स्वयंसेविका दिवसका अवसरमा नगरपालिकाले नगर क्षेत्रका ३६ महिला स्वास्थ्य स्वयंसेविकालाई सिमकार्डसहित मोबाइल फोन सेट उपलब्ध गराएको थियो।
स्वयंसेविकासँग मोबाइल भएपछि नगरका नौ वटै वडा बस्तीका सर्वसाधारण महिलाले फोन गरेर आफ्ना समस्या बुझाउने गरेका छन्। फोन गर्नेमा अधिकांश महिला रहेका र उनीहरुले धेरैजसो परिवार नियोजन परामर्श, गर्भवती जाँच र साना नानीलाइ निमोनियाको समस्याबारे परामर्श दिएको स्वयंसेविका बताउँछन्।
मटिहानी–९ सिमरदहीकी स्वास्थ्य स्वयंसेविका मैफूल खातुनले भनिन्, ‘मोबाइलले सेवा सहज हुनुका साथै हाम्रो व्यस्तता पनि बढेको छ।’
खातुनजस्तै मटिहानी–७ की स्वयंसेविका अनितादेवीले पनि मोबाइलले सेवा दिन निकै सजिलो बनाएको बताइन्। ‘जन्मान्तरका उपाय, गर्भजाँच परामर्श र साना नानीहरूको स्वास्थ्य समस्याबारे धेरै फोन आउँछन्’, उनले भनिन्, ‘अब त सानातिना समस्यामा पनि फोन गर्ने बढेपछि दिनभरि नै व्यस्तता बढेको छ।’
लामो समयदेखि आधारभूत तहमा स्वास्थ्यसम्बन्धी सेवा दिँदै आएका स्वास्थ्य स्वयंसेविकालाई सूचना र सञ्चार प्रविधिमा पहुँच बढाउने उद्देश्यले मोबाइल सेट उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ। गर्भवतीको स्याहार, खानपिन र सुत्केरी गराउने कुरामा ठीक परामर्श दिने एवं साना नानीको स्याहारसम्भारबारे सचेतना वृद्धिमा स्वास्थ्य स्वयंसेविकाको महत्त्वपूर्ण योगदान रहेको नगरप्रमुख हरिप्रसाद मण्डल बताए।
यसैबीच मटिहानी नगरकार्यपालिकाले स्वास्थ्य स्वयंसेविकालाई लक्ष्य गरी थप सेवा र सुविधा विस्तार गर्ने जनाएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित