राजधानीकै अस्पताल, तर छैनन् एक्स–रे गर्ने प्राविधिक
काठमाडौं : प्राथमिक स्वास्थ्य केन्द्रबाट अस्पतालमा स्तरोन्नति भएको छ महिनासम्म पनि गोकर्ण प्राथमिक अस्पतालमा एक्स–रे र ईसीजी मेसिन चलाउने प्राविधिक एवं राख्ने कक्षसमेत छैन।
प्राथमिक स्वास्थ्य केन्द्रलाई गत असार १६ गते प्राथमिक अस्पतालमा स्तरोन्नति गरिएको थियो। प्रदेश ३ सरकारको ५० लाख सहयोगमा केन्द्रको स्तरोन्नति गरिएको हो।
केन्द्रबाट अस्पतालमा स्तरोन्नतिको घोषणा गर्न मुख्यमन्त्री डोरमणि पौडेल नै गोकर्ण आएका थिए। स्तरोन्नति भएपछि अस्पतालमा २४ सै घण्टा सेवा उपलब्ध गराउनुपर्ने भए पनि बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मात्र अस्पताल खुल्ने गरेको छ।
अस्पतालमा १५ शय्या रहने भनिए पनि त्यसको व्यवस्था छ महिनासम्म पनि हुन सकेको छैन। अस्पतालमा एक्स–रे यन्त्र चलाउने प्राविधिक जनशक्तिसमेत नभएको अस्पताल व्यवस्थापन समिति सदस्य राजकुमार श्रेष्ठले स्वीकार गरे।
अस्पतालमा कार्यालय सहयोगीसहित २१ जनाको दरबन्दी भए पनि हाल १६ जना मात्र कार्यरत छन्। करारका चिकित्सक भने तीन जना छन्। एक जना प्रदेश सरकारले उपलब्ध गराएको हो। अस्पतालका ल्याब निरीक्षक नारायण खनालले ल्याबका प्राविधिक कर्मचारी करारमा राखिए पनि एक्स–रे चलाउने प्राविधिक पाउन नसकेको बताए।
‘एक्स–रे मेसिन आएको एक वर्ष भयो। पहिले राख्ने ठाउँ थिएन। बल्ल राख्ने ठाउँ बन्यो। अब एक्स–रे र ईसीजी चलाउने जनशक्तिको प्रतीक्षामा छौँ’, खनालले भने।
विसं २०३१ मा बनेको भवनमा अस्पताल चलाइएकाले ठाउँ पुर्याउन अप्ठ्यारो परेको हो। अस्पताल बनाउन उपयुक्त जग्गाको खोजी भइरहेको छ। राष्ट्रिय शहीद स्मारकसँग अस्पताल बनाउने जग्गा माग गरिएको व्यवस्थापन समिति सदस्य श्रेष्ठले सुनाए।
अस्पतालमा स्तरोन्नति भएको बोर्ड झुण्ड्याएपछि दैनिक १०० भन्दा बढी बिरामी जचाँउन आउने गरेका छन्। तर स्वास्थ्यकर्मी नै नभएपछि उपचार नपाई निजी अस्पताल जान बाध्य छन्। अस्पतालमा हाल निःशुल्क पाइने ७० प्रकारका औषधि भने उपलब्ध भइरहेको जनाइएको छ।
रासस




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै