उच्च अदालतको आदेशसँगै निदान अस्पतालका सीईओ लगायत पाँचै जना रिहा
काठमाडौं: मिर्गौला प्रत्यारोपण काण्डमा जेल परेका निदान अस्पतालका सिईओ र मेडिकल डाइरेक्टर सहित पाँच जनालाई थुनामुक्त गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
अदालतको आदेशपछि अस्पतालका सीईओ विपेन्द्र प्रधान, डा राजेश पन्त, अस्पतालका कानूनी सल्लाहकार कुमुद भट्टराई,जिल्ला प्रशासन कार्यालय ललितपुरका अधिकृत रामचन्द्र आले र मिर्गौला लिने शंकरमान लामा बिहिबार रिहा भएका छन् ।
उच्च अदालतका मुख्य न्यायाधीश न्यायाधीश टेकनारायण कुँवर र नकुल सुवेदी को संयुक्त इजलाशले दिएको आदेशमा मिर्गौैला ग्रहण गर्ने विरामी लामालाई १० लाख, कानूनी सल्लाहकार भट्टराईलाई ९ लाख र अस्पतालका सिईओ प्रधानसंग ६ लाख रुपैयाँ धरौटी माग गरेको थियो । डा पन्त र शाखा अधिकृत आलेलाई भने साधारण तारेखमा रिहा गर्ने आदेश दिइएको छ ।
मिर्गौला प्रत्यारोपण गर्नकै लागि नक्कली भान्जा खडा गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले गत असोजमा अस्पतालका सीईओ प्रधान र डाक्टर सहित पाँच जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई जिल्ला अदालत पाटनले २७ कात्तिकमा पूर्पक्षका लागि जेल चलान गरेको थियो ।
यसका विरुद्ध उनीहरुका परिवारले उच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटको बिहिबार फैसला भएको हो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा