Health TV Online
Health TV Online

नेपालमा पनि ‘क्लिनिकल ट्रायल रजिस्ट्री’ स्थापना

नेपालमा पनि ‘क्लिनिकल ट्रायल रजिस्ट्री’ स्थापना

काठमाडौं : औषधि, खोप र उपकरण र समुदायमा आधारित अध्ययन, अनुसन्धानका लागि ‘क्लिनिकल ट्रायल रजिस्ट्री’ स्थापना भएको छ।
नेपालमा क्लिनिकल ट्रायलसम्बन्धी अनुसन्धान बढिरहेको अवस्थालाई मध्यनजर गर्दै यसको शुरुवात गरिएको बिहीबार आयोजित कार्यक्रममा जानकारी दिइयो।

नेपाल अनुसन्धान परिषद्का आचारसंहिता बोर्डका अध्यक्ष डा.प्रकाश घिमिरेले एमडी एमएसको थेसिस गर्नेहरूले विदेशस्थित ट्रायल क्लिनिकमा गएर काम गर्नुपर्ने बाध्यता रहेकोमा अब अन्त्य भएको बताए। ‘यसले अनुसन्धान गर्ने वातावरण सिर्जना गर्नेछ’, उनले भने, ‘आफूले अनुसन्धान गरेका डाटा आफैसँग सुरक्षित रहनेछन्।’

कार्यक्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिषदका डा. अञ्जनी झाले रजिष्ट्री स्थापना गर्न एक वर्षदेखिको अभ्यास जारी रहेको र त्यसका लागि एउटा समिति समेत बनाएको जानकारी दिए। बाध्यतात्मक अवस्था नभए पनि आफ्नो खोज अनुसन्धान अन्तर्राष्ट्रिय जगतमा पुर्‌‌‌याउन रजिस्टर हुनु आवश्यक रहेको उनको भनाइ छ।

नेपालको रजिस्ट्री प्लेटफर्ममा डाटा इन्ट्रीका लागि दुई अनुसन्धान अधिृकत अशोक पाण्डे र अरुण शाहलाई विशेषज्ञको जिम्मेवारी दिइएको छ।

सन् २००४ नोभेम्बरमा मेक्सिकोमा भएको एक कार्यशाला गोष्ठीमा एकल प्रणालीबाट विश्यव्यापी क्लिनिकल ट्रायल रजिस्ट्रीको अन्तर्राष्ट्रिय सञ्जाल बनाउन माग भएको थियो। अहिले विश्व स्वास्थ्य संगठनअन्तर्गत ईसीटीआरपी नेटवर्कमा १८ वटा देशका प्राइमरी रजिस्ट्री आबद्ध छन्।

क्लिनिकल ट्रायल रजिस्ट्री भनेको क्लिनिकल ट्रायलको अध्ययन अनुसन्धान दर्ता गर्ने आधिकारिक प्लेटफर्म हो। सन् २०१९ मा मात्रै स्वास्थ्य अनुसन्धान परिषद्को आचारसंहिता बोर्डबाट २१ वटा क्लिनिकल ट्रायलसम्बन्धी अनुसन्धान प्रस्ताव स्वीकृत भएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार