६० वर्ष पुगेका स्वास्थ्य स्वयंसेविकालाई एक लाख रुपैयाँ
ओखलढुंगा : चम्पादेवी गाउँपालिकाले ६० वर्ष पुगेका स्वास्थ्य स्वयंसेविकालाई एक लाख नगद दिएर विदाइ गर्न थालेको छ।
गत वर्षबाट स्वयंसेविकाको सेवा सुविधाका विषयमा नीतिगत पहल थालेको चम्पादेवीले यसवर्ष गाउँपालिका क्षेत्रभित्र सेवा गरेका १२ स्वयंसेविकालाई प्रतिव्यक्ति एक लाख रुपैयाँसहित दोसल्ला ओढाएर बिदा गरेको हो।
स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारेर उनीहरूलाई सम्मानसहित बिदाइ गरिएको गाउँपालिका अध्यक्ष नवराज केसीले जानकारी दिए।
१५ वर्षसम्म स्वयंसेविका रहेर ६० वर्ष उमेर पुगेकालाई नगदसहित सम्मान गर्ने गाउँपालिकाको नीति रहेको उनले बताए। ‘यस्तो रकम १५ वर्षभन्दा बढी काम गरेका र ६० वर्ष उमेर पुगेकाले मात्रै पाउँछन्’, उनले भने।
गाउँपालिकाले दिएको उक्त रकम बाहेक नेपाल सरकारमार्फत पाउने अन्य सहयोग पनि काम छाडेका स्वयंसेविकाले पाउने जनाइएको छ ।
गत वर्षदेखि नै चम्पादेवीका स्वयंसेविकाले मासिक एक हजार रुपैयाँ पाउँदै आएका थिए। यो वर्ष ५०० रुपैयाँ बढाएर प्रति व्यक्ति मासिक एक हजार ५०० दिन थालिएको छ । चम्पादेवी गाउँपालिकामा ७७ महिला स्वास्थ्य स्वयंसेविका छन्।
काठमाडौं महानगरका वडाहरुमा आजदेखि नि:शुल्क क्यान्सर परीक्षण शिविर
सिगरेटको विकल्प ई -सिगरेट होइन
‘स्ट्रोकको उपचारमा समय सबैभन्दा महत्वपूर्ण मानिन्छ’
वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ए कार्यक्रम, छुट खोप पनि दिइने
शारीरिक गतिविधिले हुने फाइदाहरू