Health TV Online
Health TV Online

इलाममा १५ शय्याको आयुर्वेद अस्पताल

इलाममा १५ शय्याको आयुर्वेद अस्पताल

इलाम : सूर्योदय नगरपालिकामा १५ शय्याको आयुर्वेद अस्पताल सञ्चालनमा आएको छ।

प्रदेश नं १ सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय धनकुटाको मातहतमा सो अस्पताल सञ्चालनमा आएको हो। सूर्योदय नगरपालिका–४, आइतबारेमा रहेको मेची अञ्चल आयुर्वेद औषधालय पहिलादेखि नै सञ्चालनमा आएको भए पनि स्तरोन्नति गरेर १५ शय्याको अस्पताल बनाइएको हो।

मेची अञ्चल आयुर्वेद औषधालयको सेवा विस्तार गरी १५ श्ययाको बनाइएपछि आयुर्वेद अस्पताल बनेको हो। प्रदेश १ सरकारको पहलमा स्तरोन्नति तथा सेवा विस्तार गरी इलाम, झापा, पाँचथर र ताप्लेजुङमा सेवा दिँदै आएको औषधालयलाई अस्पतालको रूपमा सञ्चालनमा ल्याइएको कार्यालय प्रमुख तथा आयुर्वेदविज्ञ तीर्थ आचार्यले बताए।

अस्पतालमा अहिले पञ्चकर्म सेवा, सिरोधारा, स्थानिक बस्ती क्षार सूत्र, फिजियोथेरापी सेवा, अकुपञ्चर सेवा, इमर्जेन्सी सेवा, सःशुल्क फार्मेसी सेवा, विशेषज्ञ चिकित्सक सेवा सञ्चालनमा ल्याइएको छ।

सरकारी क्षेत्रबाटै सुविधासम्पन्न आयुर्वेद अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासी खुशी भएका छन्। विभिन्न जडीबुटीको प्रशोधनबाट औषधि निर्माण गरी उक्त औषधि र विभिन्न विधिबाट बिरामीको उपचार गरिँदै आएको प्रमुख आचार्यले बताए।

आयुर्वेदविज्ञ आचार्यले आयुर्वेदको महत्त्व बुझाउनका लागि सर्वसाधारणसम्म आयुर्वेद पद्धति र यसको फाइदाबारे जानकारी गराउन लागिपरेको बताए। उनले कार्यालयमा अब २४सै घण्टा सेवा प्रदान गरिने जानकारी दिए।

कार्यालयको पाँचकोठे भवन मात्र भएकाले हाल भाडामा अन्य भवन लिएर अस्पताल र कार्यालय सञ्चालन गरिँदै आएको छ। आइतबारेमा अहिले दैनिक ३०० बढीले आयुर्वेद पद्धतिबाट उपचार गराउँदै आएका छन्। २०३८ मा स्थापना भएको उक्त कार्यालयअन्तर्गत रहेर इलामको मंगलबारे, इलामबजार जमुना र एकतप्पामा सेवा सञ्चालन गरिएकाे थियाे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार