Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या

स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या

तनहुँ : बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित धरमपानी स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा सर्वसाधारणको उपचारमा समस्या परेको छ। समायोजनका क्रममा दुई महिनाअघि अन्यत्र गएका र सरुवा भएर आउनुपर्ने स्वास्थ्यकर्मी नआएका कारण कर्मचारीको अभाव भएको हो।

स्वास्थ्यचौकीका प्रमुख सिनियर अहेव धर्मराज बडूले स्वास्थ्यकर्मीको अभावमा सेवा दिन असहज भएको बताउनुभयो। दैनिक १५ देखि २० सर्वसाधारण उपचार सेवा लिन आउने स्वास्थ्यचौकीमा बडू र एक कार्यालय सहायक मात्र कार्यरत छन्।

आफू एक्लैले कार्यालयको प्रशासनिक काम, बिरामीको स्वास्थ्य परीक्षण र औषधि वितरणको काम गर्नुपरेको बडूले बताए। ‘एक्लैले सबै काम गर्नुपर्दा कठिनाइ भइरहेको छ’, बडूले भने, ‘जसकारण सबै बिरामीलाई सेवा दिन सकिएको छैन।’

बिरामीको स्वास्थ्य परीक्षण गर्ने अहेब र स्वास्थ्य सहायक नै नभएपछि सेवा लिन आउने सबै सर्वसाधारणलाई सेवा दिन नसकिएको उहाँको गुनासो छ। बडूका अनुसार सरुवा भएर आउने कर्मचारी नआउने भएमा अर्को विकल्प खोज्न गाउँपालिकालाई अनुरोध गरिएको छ।

गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले सरुवा भएर आउने स्वास्थ्यकर्मीको टुङ्गो लागिसकेपछि अर्को व्यवस्था गरिने जानकारी दिँदै सर्वसाधारणको स्वास्थ्यप्रति गाउँपालिका गम्भीर रहेको बताए। स्थानीयवासी रामबहादुर गुरुङले स्वास्थ्यचौकीमा एक मात्रै स्वास्थ्यकर्मी भएका कारण सेवा लिन धेरै समय कुर्नुपरेको बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार