Health TV Online
Health TV Online

अछाममा एचआईभी संक्रमित घटे

अछाममा एचआईभी संक्रमित घटे

अछाम : जिल्लामा एचआईभी सङ्क्रमण दर घट्दो क्रममा रहेको पाइएको छ। स्वास्थ्य कार्यालयका अनुसार पछिल्ला वर्षमा जिल्लामा नयाँ संक्रमित दर घट्दै गएको हो।

विगत ११ वर्षको तथ्याङ्कअनुसार जिल्लामा एचआईभी एड्सका नयाँ बिरामी कम हुँदै गएकाे स्वास्थ्य कार्यालयले जनाएको छ। आर्थिक वर्ष ०६४\६५ मा ३४३ नयाँ संक्रमित फेला परेकामा आर्थिक वर्ष ०७५\७६ मा ४३ जना मात्रै नयाँ बिरामी पत्ता लागेका स्वास्थ्य कार्यालयका प्रमुख झनकराज ढुङ्गानाले बताए। उनका अनुसार आर्थिक वर्ष ०७४\७५ मा सबैभन्दा कम १९ मात्र नयाँ संक्रमित भेटिएका थिए ।

अछाममा आर्थिक वर्ष ०६५\६६ मा २२२, आव ०६६\६७ मा ९३, आव ०६७\६८ मा १३०, आव ०६८\६९ मा ९९, आव ०६९\७० मा ८६, आव ०७०\७१ मा ८१, आव ०७१\७२ मा ७३, आव ०७२\७३ मा ६६ र आव ०७३\७४ मा ६७ नयाँ एचआईभी संक्रमित भेटिएका स्वास्थ्य कार्यालयको तथ्यांक छ।

जिल्लामा हाल एक हजार ५६७ एचआइभी सङ्क्रमित पत्ता लागेका छन् । पत्ता लागेका बिरामी पछिल्लो समय कहीँ पनि नभेटिएकाले दोहोरिएर आउने बिरामी बढी भएका हुनसक्ने ढुङ्गानाले बताए। उनका अनुसार अहिले ३७७ महिला र २६१ पुरुष संक्रमित नियमित एआरटी सेवन गरिरहेका छन्। मङ्गलसेन र बयालपाटामा रहेका केयर सेन्टरमार्फत उनीहरुले एआरटी खाइरहेको जनाइएको छ ।

कुनै बेला एचआईभी सङ्क्रमणका कारण बदनाम भएको अछामका लागि नयाँ बिरामी भेटिने क्रम घट्दै जानु सुखद लक्षण भएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक झपट ढुङ्गानाले बताए।

यसबारे जनचेतनासहित बिरामी खोज्न विभिन्न स्थानमा शिविरसमेत चलाइएको कार्यालयले जानकारी दिएकाे छ। जिल्लामा एचआईभी संक्रमित भएकामध्ये पुरुष १२८ र महिला ५७ गरी १८५ को मृत्यु भइसकेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन