Health TV Online
Health TV Online

३ वर्षअघि थालिएकाे बेनी अस्पताल भवन अझै बनेन

३ वर्षअघि थालिएकाे बेनी अस्पताल भवन अझै बनेन

पाल्पा : सम्झौताअनुसार काम गरेको भए बेनी अस्पतालको भवन बनिसक्थ्यो। निर्माण व्यवसायी र सम्बद्ध कार्यालयको लापरवाहीका आधा पनि प्रगति भएको छैन।

गत असारदेखि कार्यक्षेत्र छोडेका मजदुर र निर्माण व्यवसायी अझै काममा फर्किएका छैनन्। तीनतले ५० शय्याको अस्पताल भवन अन्डरग्राउन्ड ढलान गरेपछि अलपत्र छाडिएको हो ।

भवन निर्माणमा भएको ढिलासुस्तीका कारण सेवा प्रवाहमा असर परेको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए। ‘५० शय्या क्षमता भए पनि १५ शय्याको संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य छौँ’, अध्यक्ष कटुवालले भने, ‘पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ।’

नयाँ भवन बनाउन पुरानो भवन भत्काइएको थियो। बहिरंग कक्षको सेवा अस्थायी, आकस्मिक र अन्तरंग कक्ष पुरानो प्रशासनिक भवनबाट सञ्चालन गरिएको छ। स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ। १५ शय्या क्षमताको अस्पताल २०७२ मा पचास शय्यामा स्तरोन्नति भएको थियो।

तत्कालीन शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले २०७३ मंसिर २१ गते भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो।

संघीयता कार्यान्वयनपछि शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ कास्कीलाई गत वर्ष आयोजना हस्तान्तरण भएको थियो। २४ करोड चार लाख २९ हजार ८६९ लागत अनुमान गरिएको भवन महादेव खिम्ती–गल्वा–रफिना जेभीले ५ करोड ८४ लाख आठ हजार ८९ रूपैयाँमा ठेक्का लिएको थियो।

२०७६ मंसिर २० गते भवन निर्माण सक्ने लक्ष्य थियो। चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा चार तले तीन वटा भवन बनाउन लागिएको हो । एक वटा ब्लक भवनको दोस्रो तला ढलान भएको छ । दुई वटाको दोस्रो तला ढलानका लागि सेटिङ गरेर छोडिएको छ।

भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन बनाउन लागिएको हो । भुईँतलामा लोन्डरी, मोर्टुअरी, किचन, पहिलो तलामा इमर्जेन्सी, ल्याब, रेडियोलोजी, दोस्रोतलामा शल्यक्रिया कक्ष, बहिरंग सेवा र अन्तिम तलामा प्रशासन रहने जनाइएको छ।

पटकपटक ताकेता र समन्वय गर्दासमेत निर्माण व्यवसायी काममा नफर्किएपछि भवन अलपत्र परेको अध्यक्ष कटुवालले बताए।

ठेकेदार कम्पनीका प्रतिनिधि रवीन जोशीले पुरानो भवन भत्काउन, रुख कटान र ढुवानीका लागि सडक बनाउन समयमै अनुमति पाउन भएको ढिलाइले सम्झौता गरेको एक वर्षपछि मात्र काम शुरु गर्न पाएको बताए। ‘साइट क्लियर’ नहुँदा एक वर्ष ढिला भयो, पछि हाम्रै  कारणले ढिलाइ भएको हो’, जोशीले भन्नुभयो, ‘आन्तरिक समस्या समाधान भइसक्यो । अब एक हप्ताभित्रै मजदुर र निर्माण सामग्री लिएर भवन निर्माणको काम अघि बढाउँछु।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार