Health TV Online
Health TV Online
Health TV Online

चर्को शुल्कबाट मुक्त हुँदै मेडिकल विद्यार्थी

चर्को शुल्कबाट मुक्त हुँदै मेडिकल विद्यार्थी

काठमाडौं : चिकित्सा शिक्षामा सरकारले निर्धारण गरेको शुल्कमा नै अब विद्यार्थीले अध्ययन गर्न पाउने भएका छन्। सरकार र निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजका सञ्चालकका बीच मंगलबार राति दुईबुँदे सहमति भएपछि चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थी चर्को शुल्क तिर्नुपर्ने अवस्थाबाट मुक्त हुन लागेका हुन्।

तोकिएको शुल्क लागू गर्न सरकारले कडा नीति अख्तियार गरेपछि शैक्षिक सत्र २०७४\०७५ र २०७५\०७६ मा बढी लिएका मेडिकल कलेजले बुधबारदेखि नै शुल्क रकम फिर्ता वा समायोजन कार्य थालनी गर्नेछन्। फिर्ता नभए विद्यार्थीले आवाज उठाउन पाउनेछन् भने गृह मन्त्रालयले ठगी मुद्दामा कारवाही गर्नेछ।

निजी मेडिकल कलेजका सञ्चालकहरु शुल्क समायोजन गर्न र सरकारले निर्धारण गरेको शुल्कमा नयाँ भर्ना लिन सहमत भएपछि उनीहरू तत्कालका लागि ठगी मुद्दामा कारवाही पर्नबाट जोगिएका हुन्। चिकित्सा शिक्षा आयोगको गत असोज १ र ३० गतेको बैठकले स्नातक तहको नयाँ शुल्क निर्धारण गरेको थियो ।

नयाँ शैक्षिक सत्र २०७६\०७७ का लागि चिकित्सा शिक्षाको स्नातक तहअन्तर्गत एमबीबीएस र बीडीएस कार्यक्रमका लागि फरक फरक शुल्क निर्धारण भएको थियो। उपत्यकाभित्र एमबिबिएस अध्ययन गर्न ४० लाख २३ हजार २५० रुपैयाँ र उपत्यका बाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरेको थियो। त्यसैगरी, बीडीएसका लागि उपत्यकाभित्र र बाहिर २० लाख १९ हजार ५८० रुपैयाँ निर्धारण भएको थियो।

यसअघि उपत्यकाभित्र एमबीबीएस तहका लागि उपत्यकाभित्र ३८ लाख ५० हजार रुपैयाँ र उपत्यका बाहिर ४२ लाख ४५ हजार रुपैयाँ तथा बीडीएसका लागि उपत्यकाभित्र १९ लाख ३२ हजार ६१२ रुपैयाँ शुल्क रहेको थियो।

निजी क्षेत्रका मेडिकल कलेजका सञ्चालकले सरकारले निर्धारण गरेको शुल्कमा पठनपाठन गराउन नसक्ने जिकिर गर्दै आएका थिए। चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीले सरकारले निर्धारण शुल्कमा नै अध्ययन गर्न पाउनुपर्ने माग उठाउँदै संघर्ष गरिरहेका थिए।

‘सरकारसितको सहमति पालना गर्न हामी प्रतिबद्ध छौँ। बढी शुल्क रकम फिर्ता अथवा समायोजनको प्रक्रिया थालनी हुन्छ’, एक मेडिकल सञ्चालकले भने। शिक्षा, विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरी, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटा, मन्त्रालयका सचिव महेशप्रसाद दाहालसहित निजी मेडिकल कलेजका सञ्चालकले मंगलबार राति सहमतिपत्रमा हस्ताक्षर गरेका थिए।

निजी मेडिकल कलेजका तर्फबाट प्रा. डा. सुरेशकुमार कनौडिया, प्रा. डा. हरिश न्यौपाने, प्रा. डा. चन्दा कार्की, प्रा. डा. राजेश श्रेष्ठ, प्रा. डा. सुनिल शर्मालगायत सहभागी थिए।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार