बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई ‘बाल पोषण पोको’
संखुवासभा : खाँदबारी नगरपालिकाले बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई बाल ‘पोषण पोको’ दिने व्यवस्था गरेको छ।
बर्थिङ सेन्टरमा सुत्केरी गराउन आउने नगरपालिकाभित्रका आमाले बाल पोषण पोको कार्यक्रमअन्तर्गत एकमुष्ट नगद तीन हजार रुपैयाँ पाउनेछन्। आमा र बच्चालाई कुपोषित हुनबाट बचाउन र बर्थिङ सेन्टरमा नै सुत्केरी गराउन प्रोत्साहन गर्ने उद्देश्यले नगरपालिकाले यो कार्यक्रम ल्याएको हो।
बालबालिका र आमालाई आवश्यकपर्ने पोषणयुक्त खानेकुरा खरिद गर्न सहयोग पुर्याउने उद्देश्यले आर्थिक वर्ष २०७६\७७ को नीति तथा कार्यक्रममा ल्याएको नगरप्रमुखप्रमुख मुरारीप्रसाद खतिवडाले जानकारी दिए। यो कार्यक्रमले बर्थिङ सेन्टरमा नै सुत्केरी गराउन आउनेको संख्या बढ्ने अपेक्षा रहेको खतिवडाले बताए।
आमा र बच्चा दुवै सुरक्षित भएर सुत्केरी गराउन निःशुल्क एम्बुलेन्स सेवाको पनि नगरपालिकाले व्यवस्था गरेको छ । खाँदबारी नगरपालिका भित्रका गर्भवती आमालाई जहाँबाट भए पनि बर्थिङ सेन्टरसम्म जान जुनसुकै एम्बुलेन्स प्रयोग गर्न सक्नेगरी नगरपालिकाले कार्यक्रम ल्याएको हो ।
खाँदबारी नगरपालिकाभित्र जिल्ला अस्पतालसहित अन्य तीन बर्थिङ सेन्टर छन्। नगरभित्र जिल्ला अस्पताल बाहेक नगरपालिकाको तीन वडा तुम्लिङटार, सेकाहा र सित्तलपार्टीमा तालीम प्राप्त स्वास्थ्यकर्मीले सुत्केरी सेवा प्रदान गर्दै आएका छन् ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित