Health TV Online
Health TV Online
Health TV Online

बिरामीको शरीरबाट निकालियाे ७.४ किलोग्रामको मिर्गौला

बिरामीको शरीरबाट निकालियाे ७.४ किलोग्रामको मिर्गौला

भारतीय चिकित्सकहरूले एकजना बिरामीको शरीरबाट ७.४ किलोग्रामको एउटा मिर्गौला निकालेका छन्।

त्यो भनेको दुईजना स्वस्थ नवजात शिशुको तौल बराबर हो।

भारतमा बिरामीको शरीरबाट निकालिएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो मिर्गौला भएको ठानिएको छ।

सामान्यतया एउटा स्वस्थ मानिसको मिर्गौलाको तौल १२० देखि १५० ग्राम जति हुन्छ।

अवस्था

ती बिरामी ‘अटोसमल डोमिनेन्ट पोलिसिस्टिक किड्नी डिजीज’ भनिने रोगबाट पीडित थिए, जुन रोगका कारण शरीरभरि ‘सिस्ट’ उत्पन्न हुने गर्छ।

शल्यक्रियामा संलग्न एकजना चिकित्सकका अनुसार यो रोग लागेका बिरामीहरूको मिर्गौला ठूलो हुनु सामान्यजस्तै हो।

यद्यपि दिल्लीस्थित सर गंगाराम अस्पतालका डा. सचिन कथुरिआका अनुसार संक्रमण र आन्तरिक रक्तस्रावको लक्षण नदेखिएसम्म र शरीरभित्र केही हदसम्म छान्ने काम गरिरहेको अवस्थामा बिरामीको शरीरबाट मिर्गौला झिकिँदैन।

‘यी बिरामीमा एउटा नराम्रो संक्रमण देखिएको थियो जसका कारण एन्टिबायोटिकले काम गरिरहेको थिएन र मिर्गौलाको आकारले उनलाई सास फेर्न गाह्रो भइरहेको थियो। अतः त्यसलाई झिक्नुको विकल्प हामीसँग भएन’, उनले भने।

डा. कथुरिआका अनुसार चिकित्सकहरूले ठूलै मिर्गौला हुन सक्ने अनुमान गरेका थिए, तर त्यसको आकारले उनीहरूलाई झन् चकित बनायो।

कीर्तिमान

बीबीसीलाई उनले भने, ‘मिर्गौला त हामीले अनुमान गरेकोभन्दा पनि ठूलो रहेछ।

उनका अनुसार गिनिज वर्ल्ड रेकर्डमा अहिलेसम्म सबैभन्दा ठूलो मिर्गौला साढे चार किलोको दर्ता भएको छ।

यद्यपि मूत्र रोगसम्बन्धी जर्नलका अनुसार त्योभन्दा ठूलो आकारका मिर्गौला पनि पाइएका छन्।

यसअघि संयुक्त राज्य अमेरिकामा एउटा नौ किलोको पाइएको थियो भने द नेदरल्याण्ड्समा ८.७ किलोको पाइएको थियो।

गिनिज वर्ल्ड रेकर्डमा दर्ताका लागि जाने अथवा नजाने भन्ने विषयमा आफूहरूले विचार गरिरहेको डा. कथुरिआले बताए।

एनएचएस वेबसाइटका अनुसार पोलिसिस्टिक किड्नी डिजीज वंशाणुगत रोग हो जुन ३० देखि ६० वर्षको उमेरमा मानिसहरूमा देखिन्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार