Health TV Online
Health TV Online
Health TV Online

सुर्खेतमा बन्दै कर्णाली प्रदेश अस्पतालकाे मेडिकल कलेज

सुर्खेतमा बन्दै कर्णाली प्रदेश अस्पतालकाे मेडिकल कलेज

सुर्खेत : कर्णाली प्रदेश अस्पताललाई नै शिक्षण अस्पताल बनाउन प्रदेश सरकारले सहमति दिएपछि सुर्खेतमा मेडिकल कलेज निर्माणको प्रक्रिया अघि बढेको छ। सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाले शिक्षण अस्पताल र प्राज्ञिक भवन अलग–अलग स्थानमा सञ्चालन गर्न तयारी थालेको छ।

संघीय सरकारले चालू आवमा सुर्खेतमा मेडिकल कलेज स्थापना गर्न १० करोड बजेट विनियोजन गरेको छ । आयोजनाका प्रमुख जीतबहादुर शाहले वीरेन्द्रनगर–११, १२ र १३ का ६ वटा सामुदायिक वन क्षेत्रको अध्ययन भइरहेको बताए। वन तथा वातावरण मन्त्रालयले सामुदायिक वनमा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्नका लागि सहमति प्रदान गरिसकेको उनले बताए।

‘मेडिकल कलेज सञ्चालनका लागि ३०० शय्याको अस्पताल आवश्यक भएकाले अहिलेलाई प्रदेश अस्पताललाई मेडिकल कलेजका रूपमा उपयोग गर्ने तयारी भएको छ’, उनले भने। मेडिकल कलेजको पूर्वाधार निर्माणमा समय लाग्ने हुँदा तत्काल शिक्षण कार्यका लागि प्रदेश अस्पताललाई उपयोग गर्ने टुङ्गोमा आयोजना पुगेको हो।

कर्णाली सरकारले मेडिकल कलेज स्थापनामा संघीय सरकारलाई नै सघाउने भएको छ। सामाजिक विकासमन्त्री दल रावलले प्रदेश अस्पताललाई शिक्षण अस्पतालका रूपमा स्तरोन्नति गर्ने प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरिसकेको बताए। संघीय सरकारले सुर्खेतमै मेडिकल कलेज स्थापनाको प्रक्रिया शुरु गरिसकेपछि प्रदेशले छुट्टै मेडिकल कलेज बनाउन जरुरी नरहेको उनकाे भना छ।

प्रदेश सरकारले पनि बजेट वक्तव्यमै सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेको थियो । ‘मेडिकल कलेजका लागि आवश्यक पर्ने अर्को अस्पताल बनाउन समय लाग्छ’, मन्त्री रावलले भने, ‘आवश्यक पूर्वाधार थप गरेर तत्कालका लागि प्रदेश अस्पतालमै मेडिकल कलेज सञ्चालन गर्नुपर्ने हाम्रो मागमा केन्द्र सरकार सहमत भएको छ।’

सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाका अनुसार तीनवटा वडामा रहेका सामुदायिक वनको कति जग्गा आवश्यक पर्छ भन्ने टुङ्गो लागेको छैन। मेडिकल कलेजका लागि आवश्यक संरचना बनाउन कम्तीमा तीन वर्ष लाग्ने बताइएको छ। सरकारले चालू आवमै डीपीआर, इआइए, माटो जाँच लगायतका काम सकेर भवन निर्माण शुरु गर्नेछ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार