Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नवजात शिशु बचाउन ‘सुसार’ कार्यक्रम

नवजात शिशु बचाउन ‘सुसार’ कार्यक्रम

धनगढी : मातृ तथा नवजात शिशु स्याहारको गुणस्तरमा सुधार गरी शिशु मृत्युदर घटाउन सेती प्रादेशिक अस्पताल धनगढीमा ‘सुसार‘ कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र क्यानाडाको ‘गोल्डेन कम्युनिटी’ को सहयोगमा यो कार्यक्रम सुदूरपश्चिम प्रदेशको प्रादेशिक अस्पताल धनगढीसहित डडेल्धुरा अस्पतालमा समेत कार्यान्वयन हुन लागेको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो।

देशभरिका जम्मा आठ अस्पतालमा यो सेवा शुरु हुन लागेको जनाइएको छ। कार्यक्रमअन्तर्गत मातृ तथा शिशु स्याहारमा संलग्न हुने सबै स्वास्थ्यकर्मीलाई नवजात शिशुको स्याहारसम्बन्धी ज्ञान तथा सीप दिई प्रसूति सेवालाई प्रभावकारी रूपमा निगरानी गर्नेलगायतका गतिविधि गर्न लागिएको छ।

स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाको स‌ंख्या पछिल्ला वर्षमा बढ्दै गए पनि मातृ तथा शिशु सेवाको गुणस्तरमा सुधार नआउँदा अझै पनि शिशु मृत्युदर घट्न नसकेको बताइन्छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको तथ्या‌ंकअनुसार नेपालमा हरेक वर्ष जन्मिने छ लाख शिशुमध्ये छ हजार मृत शिशु जन्मिन्छन्।

सुदूरपश्चिम प्रदेशमा प्रति हजार जीवित जन्ममा ४१ नवजात शिशुको मृत्यु हुने गरेको तथ्या‌ंक उल्लेख छ। महिना नपुगी जन्मिनु, जन्मनासाथ श्वास फेर्न नसक्नु, विभिन्न सङ्क्रमण देखिनु जस्ता कारणले मृत्युदर घट्न नसकेको हो।

कार्यक्रममा ‘गोल्डेन कम्युनिटी‘सँंग आबद्ध ‘सुसार‘ कार्यक्रमका सञ्चार विषेशज्ञ सिर्जना शर्माले जीवनको पहिलो मिनेट, पहिलो दिन, पहिलो हप्ता र पहिलो महिना शिशुका लागि जोखिमपूर्ण रहने गरेको अवस्थामा जोखिमको अवस्था हटाई शिशु मृत्युदर घटाउन यो कार्यक्रम कार्यान्वयन गरिएको बताए।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार