Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

प्रभावकारी बन्दै ‘एक विद्यालय एक नर्स’ कार्यक्रम

प्रभावकारी बन्दै ‘एक विद्यालय एक नर्स’ कार्यक्रम

हेटौँडा : ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमअन्तर्गत प्रदेश ३ का ९३ वटा विद्यालयमा स्टाफ नर्स परिचालन गरिएको छ। उनीहरू बिहीबार नै विद्यालयमा खटिएको जनाइएको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत विद्यालयस्तरबाटै बालबालिकालाई सरसफाइ, स्वस्थ खानपान, किशोरकिशोरी शिक्षालगायत विषयमा अभ्यस्त गराउन तथा विद्यालयमा अध्ययनरत बालबालिकाको प्राथमिक स्वास्थ्योपचारका लागि स्वास्थ्य परिचारिकाका रूपमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गरिएको हो।

यो कार्यक्रम अनुसार गत वर्ष नमना योजनाका रूपमा प्रदेशका विभिन्न २० वटा विद्यालयमा २० जना नर्स नियुक्त गरिएको थियो।

राससका अनुसार उक्त कार्यक्रम प्रभावकारी भएसँगै मन्त्रालयले हाल प्रदेशका अन्य ९३ वटा विद्यालयका लागि नर्स नियुक्त गरी परिचालन गरेको मन्त्रालयले जनाएको छ। प्रदेशका ११९ वटा स्थानीय तहका एक एक विद्यालयमा यो वर्ष नर्स नियुक्त गर्ने कार्यक्रम तय भएको र बाँकी नर्स पनि छनोट गरी पठाउने योजना रहेको प्रदेश ३ को स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक रमेश अधिकारीले जानकारी दिए।

प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले गत वर्ष नमुना कार्यक्रमका रुपमा लागू गरिएको विद्यालयमा कार्यक्रम निकै नै प्रभावकारी भएकाले आफूहरू उत्साहित भएको बताए। उनले दीर्घकालीन सोचका साथ अघि बढाइएको कार्यक्रम प्रदेश ३ का सबै विद्यालयमा कार्यान्वयन गरिने जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार