Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

जिल्ला अस्पतालमा चिकित्सक अभाव, अहेबले जाँच्छन् बिरामी

जिल्ला अस्पतालमा चिकित्सक अभाव, अहेबले जाँच्छन् बिरामी

संखुवासभा : खाँदबारी नगरपालिका–१ की लक्ष्मी कार्की तातोपानीले शरीरमा पोलेकाले उपचार गर्न खाँदवारीस्थित जिल्ला अस्पताल पुगिन्। तर दक्ष चिकित्सक नभएकाले उचित स्वास्थ्यसेवा नपाएको गुनासो उनले गरिन्।

सदरमुकाम खाँदबारीमा रहेको याे ५० शय्या क्षमताको अस्पताल हो। तर, चिकित्सक अभावमा स्वास्थ्य सहायक (एचए) विजय पराजुली र केही अहेबले ओपीडीमा आएका बिरामीको स्वास्थ्य परीक्षण गरिरहेका हुन्छन्। अस्पताल स्वास्थ्य सहायक (एचए) को भरमा सञ्चालन छ।

दुईजना करारका चिकित्सक कार्यरत छन्। दरबन्दीका कोही चिकित्सक बिदामा बसेका छन् भने कोही सरुवा भएर हिँडिसकेका छन्। कर्मचारी समायोजनपछि जिल्ला अस्पताल केही सातादेखि चिकित्सकविहीन छ ।

अस्पतालमा भर्खर एमबीबीएसको पढाइ सकेर आएका परीक्षणमा काम गरिरहेका चिकित्सक, स्वास्थ्य सहायक र अहेबको भरमा चलेको छ। अस्पताल बसाइँको अवधिमा बिरामी कार्कीले सामान्य रोगको उपचारका लागि आएका बिरामीलाई पनि त्यहाँ कार्यरत चिकित्सकले धरान, विराटनगर वा काठमाडौं जान सुझाव दिने गरेको देखेको अनुभव सुनाइन्।

दशैँ र तिहारलगायतका चाड मनाउन घर गएका चिकित्सक अहिलेसम्म नफर्किएको स्थानीयवासी छत्रमणि काफ्लेले बताए। सघन उपचार कक्षमा भर्ना भएका बिरामीलाई जाँच गर्न चिकित्सक आउँदैनन्। पटकपटक फोन गरेपछि एक पटक आउँछन्, अनि हेरेजस्तो गरेर हिँडिहाल्छन्, जान्ने बुझ्नेलाई पनि जिल्ला अस्पतालमा सेवा लिन समस्या छ। काफ्लेले भने, ‘८ घण्टाको फरकमा लगाउनुपर्ने सुई १२ घण्टा वितिसक्दा पनि लगाउन आउँदैनन्।’

खाँदबारी अस्पतालमा सङ्खुवासभा, भोजपुरको षडानन्द नगरपालिका, साल्पासिलिच्छो गाउँपालिका र धनकुटाको महालक्ष्मी नगरपालिकाबाट समेत बिरामी आउने भएकाले सधैँ घुइँचाे हुन्छ। यहाँ दैनिक ३०० बढी बिरामी उपचारका लागि आउँछन् । एचए र अहेबलाई उनीहरूको स्वास्थ्यपरीक्षण गर्न भ्याइनभ्याइ हुने गरेको एचए पराजुलीले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार