Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भरतपुर अस्पतालकाे पोषण पुनःस्थापना गृहलाई छैन बजेट

भरतपुर अस्पतालकाे पोषण पुनःस्थापना गृहलाई छैन बजेट

चितवन : भरतपुर अस्पतालमा रहेको पोषण पुनःस्थापना गृह बजेटको अभावमा सञ्चालनमा कठिनाइ भएको छ। साउन यता त्यहाँ कार्यरत ९ कर्मचारीले तलब पाएका छैनन्।

गृहकी संयोजक छमकला काफ्लेका अनुसार गृहमा संयोजक बाहेक चार जना स्टाफ नर्स र चारजना सरसफाइ एवं भान्छाका कर्मचारी छन्। गृह सञ्चालन गर्न कर्मचारीको बाहेक बिरामीको संख्याको आधारमा हरेक महिना ४० हजारदेखि ६० हजार रूपैयाँसम्म खर्च हुन्छ।

कुपोषण भएका पाँच वर्षभन्दा मुनिका बालबालिका उपचारका लागि गृहमा ल्याइन्छ। कुपोषणकै कारण कम तौल भएका ती बालबालिकालाई पौष्टिक आहारा खुवाउने र उनीहरूका आमालाई घरमा नै पाउने खाद्यान्नबाट पोषणयुक्त खाना बनाउने तालिम दिइने काफ्लेले बताए।

बजेट अभाव भएपछि साउनयता आफूहरुकै निजी खर्च र उधारोमा सामान ल्याएर बिरामी राख्दै आएको काफ्लेको भनाइ छ। गत वर्ष १५३ बालबालिका भर्ना भएको केन्द्रमा यो वर्ष हरेक महिना १० जना नयाँ भर्ना गर्ने लक्ष्य लिइएको थियो। यो वर्ष बजेट नभएपछि लक्ष्यअनुसार भर्ना गर्न नसकिएको उनले बताए। हाल केन्द्रमा तीन मात्र बालबालिका छन्। १० शय्याको क्षमता भएको भए पनि १५ जना सम्मलाई उपचार गरिँदै आएको थियो।

अस्पतालका लेखा प्रमुख भृगु खनालका अनुसार कार्यक्रम सुनिश्चितताको पत्र प्राप्त भए अस्पतालको अन्य बजेटबाट व्यवस्थापन गर्न सकिने भए पनि पत्रसमेत प्राप्त नहुँदा समस्या भएको छ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले बजेट छुट भएको जानकारी भएलगत्तै स्वास्थ्य मन्त्रालयको सम्बन्धित शाखामा पुगेर जानकारी गराएको तर हालसम्म निकासा हुन नसकेको बताए।

सन् २०१२ अप्रिल २२ मा भरतपुर अस्पताल, नेपाल युथ फाउण्डेसन र दियालो परिवार नारायणगढले संयुक्त रूपमा गृह सञ्चालन गरेका थिए। पाँच वर्षपछि गैरसरकारी संस्थाले गृहको सञ्चालनको जिम्मेवारी अस्पताललाई दिएका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार