Health TV Online
Health TV Online
Health TV Online

प्रदूषण बढेपछि दिल्लीमा आजदेखि सवारीसाधनमा ‘जोरबिजोर’

प्रदूषण बढेपछि दिल्लीमा आजदेखि सवारीसाधनमा ‘जोरबिजोर’

विषाक्त हावाको प्रभाव कम गर्न भारतको राजधानी नयाँ दिल्लीमा सोमबारदेखि सवारी साधनमा जोरबिजोर प्रणाली लागु भएको छ।

विषाक्त हावाको प्रभाव बढ्दै गएपछि सरकारले सर्वसाधारणलाई बाहिर ननिस्कन अनुरोध गरेको छ।

दिल्लीमा प्रदूषण औसत ८०० माइक्रोग्राम प्रति घनमिटरभन्दा बढी पुगेको छ।

दिल्लीका स्वास्थ्यमन्त्री सत्यन्दर जैनले सहरवासीहरूलाई बिहान र साँझको समयमा घर बाहिर गरिने काम नगर्न अनुरोध गरेका छन्।

विद्यालयहरू बन्द गरिएको छ। प्रदूषणका कारण हालसम्म ३० वटा विमानलाई दिल्लीमा अवतरण गर्न नदिएर अन्यत्र पठाइएको छ।

त्यस्तै निर्माणका काम पनि ठप्प भएका छन्।

अधिकारीहरूका अनुसार दिल्लीको प्रदूषणको स्तर चीनको राजधानी बेइजिङभन्दा सात गुणा बढी छ।

गत शुक्रवार मात्रै सरकारले विद्यालयहरूमा ५० लाख मास्क वितरण गरेको थियो।

अनुरोध

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले प्रदूषणको स्तर असह्य भएको बताउँदै सर्वसारधारणलाई विषाक्त हावाको प्रभावबाट बच्नका लागि सरकारले जारी गरेको सुझावपालना गर्न अनुरोध गरेका छन्।

केजरिवालले सङ्घीय सरकारलाई हाल उत्पन्न परिस्थितिसँग जुझ्नका लागि सहयोग गर्न अनुरोध गरेका छन्।

बीबीसीकी दक्षिण एसिया क्षेत्रकी सम्पादक जिल म्याकगिभरिङका अनुसार केजरिवालका पछिल्ला भनाइले सरकारी अधिकारीहरूलाई सन्तुष्ट बनाउने छैन र हालको समयमा भारतीय राजनीतिज्ञहरू एकअर्कामा दोषारोपण गर्नमा व्यस्त छन्।

आइतवार दिल्लीमा युवाहरूको समूहले समस्या समाधानका लागि सरकार अग्रसर हुनुपर्ने माग राख्दै विरोध जनाएको थियो।

आसपासका राज्यमा खेतबारीमा काटिएका बालीका पराल जलाएर नष्ट गरिएकाले वायु विषाक्त भएको सरकारी अधिकारीहरू बताउँछन्।

बीबीसी नेपालीबाट

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार