Health TV Online
Health TV Online
Health TV Online

वायु प्रदूषण बढेपछि दिल्लीमा ‘स्वास्थ्य संकटकाल’

वायु प्रदूषण बढेपछि दिल्लीमा ‘स्वास्थ्य संकटकाल’

वायु प्रदूषणका कारण विषाक्त हावा फैलिएपछि भारतको राजधानीमा ‘स्वास्थ्य संकटकाल’घोषणा गरिएको छ।

हावामा विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षित अधिकतम तहभन्दा २० गुणा बढी हानिकारक तत्त्व पाइएपछि स्वास्थ्य संकटकाल घाेषणा गरिएकाे हाे।

दिल्लीमा तीन दिनका लागि सबै किसिमका निर्माण कार्य बन्द गर्न निर्देशन दिइएको छ भने मंगलवारसम्म सबै विद्यालयहरू बन्द रहनेछन्। वायु प्रदूषणका कारण विद्यालयहरूमा ५० लाखवटा मास्क वितरण गर्न लागिएको छ।

वितरित मास्क यथासम्भव प्रयोग गर्न नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आग्रह गरेका छन्।

‘ग्यास च्याम्बर’

अहिले भारतको राजधानीलाई बाक्लो तुँवालोले ढाकेको छ। मानिसहरूले त्यसको तस्विर खिचेर सामाजिक सञ्जालमा राख्दै आक्रोश व्यक्त गरेका छन्।

बर्सेनि यस्तो अवस्था दोहोरिने गरेको भन्दै उनीहरूले सरकारसँग आक्रोश पोखेका छन्। प्रत्येक वर्ष नोभेम्बर र डिसेम्बर महिनामा दिल्लीको हावा विषाक्त बन्ने गरेको छ।प्र

दूषण गम्भीर रूपमा बढेपछि सर्वोच्च न्यायालयको अनुमतिमा गठित एउटा समितिले दिल्ली र आसपासका अन्य दुई राज्यमा विभिन्न किसिमका प्रतिबन्ध लगाएको छ।

मुख्यमन्त्री केजरीवालले दिल्ली ‘ग्यास च्याम्बर’मा परिणत भएको बताएका छन्।

कारण

छिमेकी हरियाणा र पन्जाब राज्यमा किसानहरूले अन्नबाली भित्र्याएपछि खेतमा ठूटा र खोस्टामा आगो लगाउने गरेका छन्।

त्यसरी लगाइने आगोका दृश्य भू-उपग्रहबाट खिचिने तस्विरमा पनि देखिने गरेको छ।

शुक्रवार भारतीय प्रधानमन्त्री र जर्मन चान्सलर राष्ट्रपति भवनमा उपस्थित हुँदा पनि वायु प्रदूषणको प्रभाव देखिएको थियो। दीपावलीमा पड्काइने पटाकाका कारण पनि वायु प्रदूषणको मात्रा बढ्ने गरेको छ।

त्यसबाहेक निर्माण कम्पनी, यातायातबाट निस्कने धूँवा अन्य कारक हुन्। चिसो सुरु भएसँगै दिल्लीमा बढ्ने प्रदूषण पश्चिमी वायुसँगै नेपालसम्म पर्ने गरेको विज्ञहरू बताउँछन्।

नेपालमा कस्तो असर?

नेपालको वायु प्रदूषणको कारण यहाँ हुने गतिविधिबाट मात्र नभई भारतबाट आउने प्रदूषित वायु पनि रहेको विज्ञहरूले बताउने गरेका छन्।

हिउँद र सुक्खा याममा लुम्बिनी र सौराहामा काठमाण्डूमा भन्दा बढी प्रदूषण देखिनुमा सीमापारिबाट आउने कण जिम्मेवार भएको बताइन्छ।

खतरनाक वायु प्रदूषण

हलुका हुने भएकाले ती मसिना कणहरू धेरै समयसम्म हावामा रहन सक्छन् र हावासँगै हजारौँ किलोमिटर टाढासम्म पुग्न सक्छन्।

नेपालको राष्ट्रिय मापदण्डअनुसार पीएम २.५ भनिने रौँभन्दा झण्डै तीनगुणासम्म सूक्ष्म कण हावामा दैनिक औसतमा ४० माइक्रोग्रामभन्दा बढी हुँदा स्वास्थ्यमा प्रतिकूल असर पार्ने बताइन्छ।

काठमाण्डाैंको रत्नपार्कमा रहेको प्रदूषण मापक यन्त्रमा शनिवार बिहान त्यो मात्रा बढेर १६६ अर्थात् चार गुणाभन्दा बढी भएको देखिएको थियो।

त्यहाँ ४८ घण्टामा त्यो मात्रा न्यूनतम ६८ र अधिकतम १७६ पुगेको थियो। काठमाडाैंका विभिन्न स्थानमा जडान गरिएका यन्त्रहरूले वायु प्रदूषणको मात्रा बढिरहेको देखाएका छन्।

‘निकै हानिकारक’

त्यस्ता साना कणमा रासायनिक पदार्थ पनि रहिरहन सक्ने र मानिसको शरीरभित्र छिर्न सक्ने भएकाले स्वास्थ्यका लागि सबैभन्दा बढी हानिकारक हुने गर्छन्।

जाडो याममा वायुमण्डलमा ‘ब्राउन क्लाउड’ भनिने प्रदूषणको एउटा तह बनेर त्यसले सूर्यका किरणहरू छेक्ने गरेकाले समस्याहरू थप जटिल बन्ने विज्ञहरूको भनाइ छ।

दिल्लीमा बंगलादेशी क्रिकेट टोलीका प्रशिक्षकले आफ्ना खेलाडीहरूले पनि मास्क प्रयोग गर्ने बताएका छन्। दुई वर्षअघि नोभेम्बर महिनामा वायु प्रदूषण बढेपछि गुडगाँवका अस्पतालमा बिरामीलाई पनि मास्क दिइएको थियो।

सामान्य मास्कले पनि रोक्न नसक्ने भएकाले त्यस्ता कणको जोखिमबाट बच्न छिमेकी देशहरूबीच एकीकृत प्रयासको आवश्यकता औँल्याइने गरेको छ।

बीबीसी नेपालीबाट

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार