कर्णालीमा सामुदायिक नर्स कार्यक्रम
प्रदेश नं ३ मा विद्यालय नर्स कार्यक्रम प्रभावकारी भएपछि कर्णाली सरकारले पनि सोही मोडलको सामुदायिक नर्स कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ।
सामाजिक विकास मन्त्रालयले कर्णालीका स्वास्थ्य संस्थाविहीन समुदाय तथा विद्यालयहरुमा परिचालन हुने गरी नर्सिङ कार्यक्रम ल्याएको हो।
मन्त्रालयको स्वास्थ्य महाशाखाले यसका लागि स्टाफ नर्स ५९ र अनमी १४२ गरी २०१ जनालाई परिचालन गर्दैछ । महाशाखा प्रमुख वृषबहादुर शाहीले स्वयंसेवक परिचालन कार्यविधिअन्तर्गत सामुदायिक नर्सिङ कार्यक्रम सञ्चालन गरिने बताए। ‘कर्णालीका थुप्रै वडामा स्वास्थ्य संस्था छैनन्, स्वास्थ्य संस्था नभएका वडालाई केन्द्रित गरेर सम्बन्धित वडा कार्यालयमै रहनेगरी नर्सिङ स्टाफहरु मङ्सिरदेखि परिचालन हुँदैछन्’, उनले भने, ‘कात्तिक महिनाभित्र छनोट, तालिमलगायत सबै प्रक्रिया पूरा गरिनेछ।’
महाशाखा प्रमुख शाहीले छनोटका लागि शैक्षिक योग्यता, अनुभव तथा स्थानीयवासीलाई प्राथमिकतामा राखिने बताए। कार्यक्रमका लागि मन्त्रालयले चालू आर्थिक वर्षमा रु छ करोड बजेट विनियोजन गरेको छ। प्रदेश सरकारबाट खटिएका नर्सिङ स्टाफले सम्बन्धित वडा कार्यालयको निर्देशनमा आवश्यकताअनुसार समुदायका साथै विद्यालयमा पनि खटिनेछन्।
सामाजिक विकासमन्त्री दल रावलले यो कार्यक्रमले दुर्गम भेगका समुदायका साथै विद्यालयहरुमा स्वास्थ्य तथा सरसफाइको अवस्थामा सुधार आउने विश्वास व्यक्त गरे। उनले आधारभूत स्वास्थ्य तथा सरसफाइको हिसाबले जोखिममा रहेका समुदायलाई केन्द्रित गरेर नर्सिङ स्टाफ परिचालन हुने बताए।
कर्णालीले नर्सिङ स्टाफलाई विद्यालयमै सीमित नराखी समुदायमा पनि परिचालन गर्न लागेको हो। कर्णालीमा ७९ स्थानीय तह छन्। स्वास्थ्य संस्था नभएका, संस्थाको पहुँचभन्दा टाढा रहेका समुदायलाई मुख्य प्राथमिकता राखेर नर्सिङ स्टाफ परिचालन गरिने मन्त्रालयको भनाइ छ।
प्रतीकात्मक तस्विर





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण