धवलागिरि अस्पताललाई ३० लाखको उपकरण
बागलुङ : धवलागिरि अञ्चल अस्पतालको सेवा गुणस्तरीय बनाउन भन्दै ताइवानी रोटरियनले अस्पतालको ३० लाख रुपैयाँ बराबरको उपकरण सहयोग गरेको छ।
रोटरी क्लब अफ बागलुङले धवलागिरि अञ्चल अस्पतालमा आयोजना गरेको बृहत निःशुल्क स्वास्थ्य शिविरका क्रममा बागलुङ आएका ताइवानीहरुले अस्पताललाई अत्यावश्यक उपकरण सहयोग प्रदान गरेको धवलागिरि अञ्चल अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले जानकारी दिए।
अस्पताललाई छ लाख रुपैयाँ बराबरको मुटु जाँच गर्ने इको मेसिन, १२ लाख रुपैयाँ बराबरको अल्ट्रासाउण्ड मेसिन, १० लाख रुपैयाँ बराबरको अत्याधुनिक उपकरणजडित डेण्टल चियर दुई थान र डेण्टल सामग्री, रक्तचाप मापन गर्ने औजार छ थानलगायतका अस्पताललाई चाहिने अत्यावश्यक उपकरण ३० लाख रुपैयाँ बराबरको सहयोग प्राप्त भएको धवलागिरि अञ्चल अस्पतालले जनाएको छ।
अस्पताललाई प्राप्त उपकरणले गुणस्तरीय सेवा छिटोछरितो प्रदान गर्न निकै सहयोग पुग्ने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले बताए। ‘हामीकहाँ पेट, घाँटीलगायतको भिडियो एक्सरे गर्ने सेवा थियो, मुटुको भिडियो एक्सरे गर्न पोखरा पठाउनुपर्ने अवस्था हो’, पोखरेलले भने, ‘मुटुको भिडियो एक्सरे गर्न मिल्ने ‘इको’ मेसिन सहयोग प्राप्त भए पनि बिरामीलाई राहत भएको छ।’ उनले अस्पतालमा डेन्टल चियरको अभावमा एकपटकमा एक बिरामीको दाँतको उपचार हुने गरेकाेमा सहयोग प्राप्त डेन्टल चियरपछि एक पटकमा तीन जनाको उपचार गर्न सकिने जानकरी दिए।
ताइवानी रोटरियनहरूले नेपालको स्वास्थ्य सेवामा व्यक्तिगत रूपमा सहयोग गर्दै आइरहेका छन्। प्राप्त उपकरणको प्रयोगले अस्पताल आउने बिरामीलाई निकै सहज भएको अस्पताल विकास समितिका सदस्य शालिकराम शर्माले बताए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित