दाङमा रगत अभाव
दाङ : जिल्लामा सधैँजसो रगत अभाव हुने गरेको छ। बिरामीलाई आवश्यक परेको समयमा तुरुन्तै रगत पाउने अवस्था अझै हुन सकेको छैन।
रक्त सञ्चार केन्द्र दाङका अनुसार अझै २० प्रतिशत बिरामीले आफन्तबाट नै रगत लिने गर्छन्। दैनिक १०\१५ युनिट रगत आवश्यक पर्ने जिल्लामा मासिक सरदर ३०० युनिट रगतको आवश्यकता पर्ने रक्तसञ्चार केन्द्रले जनाएको छ। तुलसीपुर र घोराहीका रक्त सञ्चार केन्द्रका लागि गत आर्थिक वर्ष २०७६\०७७ मा दुई हजार ९६० ले रक्तदान गरेका थिए।
तुलसीपुरमा ६४४ युनिट रगत सङ्कलन भएकामा ६७३ युनिट रगत खपत भएको रक्तसञ्चार केन्द्र तुलसीपुरका नरेश चौधरीले जानकारी दिए। घोराहीमा दुई हजार ३१६ सङ्कलन भएको र त्यसमध्येमा दुई हजार २०० खपत भएको रक्त सञ्चार केन्द्र घोराहीका प्रमुख दिलीप न्यौपाने बताए।
घोराहीमा दुई हजार ३१६ युनिटमा एक हजार ८८० युनिट पुरुषबाट र महिलाबाट ४३६ युनिट सङ्कलन भएको उनको भनाइ छ। त्यसैगरी डाइलोसिस सेवा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा शुरु भएको र दैनिक छ\सात युनिट खपत हुने गरेको छ। रक्तसञ्चार केन्द्र तुलसीपुरमा फ्रिज सानो क्षमताको भएकाले ६० युनिटभन्दा बढी स्टक गर्न नमिल्ने भएकाले समस्या रहेको रक्तसञ्चार केन्द्रले जनाएको छ।
त्यसैगरी दाङमा ८० प्रतिशत बिरामीले रक्तसञ्चार केन्द्रबाट रगत प्राप्त गर्ने गरेका छन्। ‘जिल्लामा सबैभन्दा बढी ‘बी’ पोजेटिभ समूहको रगतको अभाव हुने गरेको छ’, केन्द्रका प्रमुख न्यौपानेले भने, ‘दाङमा सिकलसेलका बिरामी धेरै भएकाले पनि उनीहरूलाई ‘बी’ पोजेटिभ रगत आवश्यक पर्ने भएकाले त्यसको अभाव हुने गरेको हो।’ त्यसैगरी घोराहीबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, लमही अस्पताल र निजी अस्पताल दीपज्योति हस्पिटल, गोर्खा हस्पिटललगायतका अस्पतालमा रगत खपत हुने गरेको छ।
त्यसबाहेक जिल्ला बाहिर बुटवल र नेपालगञ्जका अस्पतालमा समेत कहिले काहीँ माग भएबमोजिम रगत पठाउने गरिएको उनले बताए। तुलसीपुरमा राप्ती प्रादेशिक अस्पताल, राप्ती लाइफ केयर हस्पिटल र तुलसी हस्पिटलमा रगत खपत हुने गरेको छ तर तुलसीपुरमा रगतको अभाव भए घोराहीबाट ल्याउने र घोराहीमा अभाव भए तुलसीपुरबाट पठाउने गरेको तुलसीपुरका इञ्चार्ज रेमन चौधरीले बताए।
‘बी’ पोजेटिभ रगत दाङमा अभाव हुने भएकाले मागपूर्ति गर्न जेसिज, रोटरी र रोट्रयाकलगायत संघसंस्थासँग समन्वय गरी व्यवस्था मिलाउने गरिएको चौधरीको भनाइ छ। अन्य रगतभन्दा ‘ए’ र ‘बी’ नेगेटिभ तथा पोजेटिभ रगतका कहिलेकाहीँ समस्याले गर्दा शल्यक्रिया गर्दा समस्या हुने गरेको राप्ती प्रादेशिक अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. विनोद सिंहले बताए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित