पोलियोका तीन भाइरसमध्ये दोस्रो प्रजाति उन्मूलन भएको घोषणा
विज्ञहरूले पोलियोका तीन भाइरसमध्ये दोस्रो प्रजाति उन्मूलन भएको घोषणा गरेका छन्।
खुला प्रजातिका पोलियो भाइरस तीन प्रकारका हुन्छन् र वैज्ञानिक हिसाबले ती फरकफरक हुन्छन्।
तर पक्षाघात वा मृत्यु समेत निम्त्याउने पोलियो भाइरसका लक्षण समान हुन्छ।
विश्वभरिबाट टाइप टु नामक पोलियो भाइरस उन्मूलन भएको दुई वर्षअघि घोषणा गरिएको थियो भने विश्व स्वास्थ्य सङ्गठनका अनुसार ‘टाइप थ्री’ नामक भाइरसको उन्मूलन अहिले भएको हो।
महत्त्वपूर्ण उपलब्धि
तर टाइप वान नामक भाइरस चाहिँ अफगानिस्तान र पाकिस्तानमा अझै देखिएको छ।
पोलियोले मूलतः पाँच वर्षमुनिका बालबालिकालाई असर गर्छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक दुई सय बिरामीमध्ये एकजना बिरामीलाई हुने पक्षाघात पूर्ववत अवस्थामा फर्किन नसक्ने प्रकारको हुन्छ।
श्वासप्रश्वासमा सघाउने मांसपेशीहरूलाई पक्षाघातको असर परेमा मृत्यु पनि हुन सक्छ।
पोलियोको उपचार छैन, तर खोप लगाएर बच्चाहरूलाई पोलियो लाग्नबाट बचाउन सकिन्छ।
खुला प्रजातिको पोलियो भाइरसबाट प्रभावित हुनेहरूको सङ्ख्या सन् १९८८ देखि ९९ प्रतिशतले कम भएको छ।
पोलियो सङ्क्रमणका अन्तिम पुस्ता
टाइप टु भाइरसबाट प्रभावित अन्तिम बिरामी भारतमा फेला पारिएको १६ वर्षपछि सन् २०१५ मा त्यसको उन्मूलन भएको घोषणा गरिएको थियो।
टाइप थ्रीका अन्तिम बिरामी उत्तरी नाइजेरियामा फेला पारिएको सात वर्ष पुगेको छ।
विश्व पोलियो दिवसका अवसरमा बोल्दै डब्ल्यूएचओकी अफ्रिका क्षेत्रीय निर्देशक डा. मात्सीदीसो मोएतीले भनिन्, ‘विश्वलाई पोलियोमुक्त बनाउने दिशामा टाइप थ्री भाइरसको उन्मूलन एउटा महत्त्वपूर्ण कोसेढुङ्गा हो, तर हामी ढुक्क हुन सक्दैनौँ।
टाइप वान अहिले अफगानिस्तान र पाकिस्तानमा मात्रै देखिएको छ। त्यसको अन्तिम बिरामी नाइजेरियामा सन् २०१६ मा देखिएको थियो।
विश्वभरि ठूलो स्तरमा चलाइँदै आएको खोप कार्यक्रम पोलियोविरुद्धको लडाइँमा महत्त्वपूर्ण साबित भएको छ।
बीबीसी नेपालीबाट





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित