Health TV Online
Health TV Online
Health TV Online

करारका चिकित्सकका भरमा जाजरकोट अस्पताल

करारका चिकित्सकका भरमा जाजरकोट अस्पताल

जाजरकोट : जिल्ला अस्पताल जाजरकोटमा ६३ जना स्वास्थ्यकर्मीको दरबन्दी छ तर करारका चिकित्सकको भरमा अस्पताल सञ्चालन गर्नुपर्ने बाध्यता छ।

अस्पतालमा अहिले दरबन्दीका चिकित्सकको सङ्ख्या शून्य छ। दरबन्दीमा कार्यरत अघिकांश चिकित्सक समायोजनमा अन्यत्र सरुवा भएपछि करारका चिकित्सकको भरमा अस्पताल सञ्चालन गर्नुपरेको हो। अस्पताल सञ्चालनका लागि अहिले तीन जना चिकित्सक करारका छन्।

‘चिकित्सक समायोजनका कारण अस्पताल रित्तिएको छ’, स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. रविन भुसालले भने, ‘यहाँका चिकित्सकलाई केन्द्र सरकारले समायोजन गरी अन्यत्रका अस्पताल पठाएपछि जनशक्तिको अभाव भएको हो।’

दरबन्दीमा कार्यरत चिकित्सक समायोजन भएर बाहिर जिल्ला गएपछि जिल्ला अस्पताल दरबन्दीको मेडिकल अधिकृतविहीन भएको छ। हप्ता दिन अघिमात्र जटिल खालको शल्यक्रिया हुने जाजरकोट जिल्ला अस्पतालमा अब सामान्य जाँच मात्र हुने अवस्थामा पुगेको छ। अहिले १३ जना स्वास्थ्यकर्मी र कर्मचारीको भरमा जिल्ला अस्पताल चलेको प्रमुख डा. भुसालले जानकारी दिए।

५० शय्याको अस्पताल चिकित्सकविहीन हुनु सामान्य कुरा नभएको उनकाे भनाइ छ। अहिले जिल्लाका तीन सरकारी कार्यालयलाई गाभेर स्वास्थ्य सेवा कार्यालयबाट सञ्चालन भइरहेको जिल्ला अस्पताल जाजरकोटमा विगतदेखि दिँदै आएको सेवासमेत कटौती हुन थालेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार