Health TV Online
Health TV Online
Health TV Online

प्रभावकारी बन्दै हेल्थ डेस्क

प्रभावकारी बन्दै हेल्थ डेस्क

कैलाली : टीकापुर नगरपालिकाले खक्रौला भन्सार कार्यालयमा हेल्थ डेस्क सञ्चालन गर्दा स्वास्थ्य परीक्षणमा सहज हुन थालेको छ। कामको सिलसिलामा भारत गई त्यहाँबाट फर्किने नेपाली तथा अन्य विदेशी नागरिकलाई स्वास्थ्य परीक्षण गराएर मात्र नेपाल प्रवेश गराउन थालिएको हो।

सुदूरपश्चिम प्रदेश सरकारको समन्वयमा नगरपालिकामार्फत सञ्चालनमा ल्याइएको हेल्थ डेस्कमा दैनिक १५० भन्दा बढीको स्वास्थ्य परीक्षण तथा परामर्श हुने गरेको छ। हेल्थ डेस्कमा भारतबाट आउने नेपालीलाई मात्र नभई भारतीय नागरिकसमेत स्वास्थ्य परीक्षणका लागि आउने गरेका हेल्थ डेक्स इन्चार्ज एकेन्द्र विकले बताए।

डेस्क सञ्चालनमा आएको छ महिनामा करिब छ हजारभन्दा बढीको स्वास्थ्य परीक्षण तथा परामर्श दिएको विकले जानकारी दिए। हालसम्म सात मलेरियाका बिरामी, २५ मा डेंगु रोगको लक्षण देखिएका बिरामी र २५ ले डेंगु रोगको औषधि सेवन गरिरहेकाको पुनः परीक्षण गरिनुका साथै परामर्श दिइएको उनले बताए।

स्वास्थ्य परीक्षण हुन थालेपछि भारतबाट नेपाल फर्किने नेपाली तथा अन्य विदेशी नागरिकबाट फैलन सक्ने सरुवा रोग न्यूनीकरणमा समेत सहयोग पुग्ने बताइएको छ। एचआईभी एड्स, मलेरिया, डेंगुलगायतका सरुवा रोगको परीक्षण गरिनुका साथै परामर्शको काम हेल्थ डेस्कबाट भइरहेको छ। भारतबाट आउने नेपाली तथा विदेशी नागरिकका साथै स्थानीयवासीले समेत हेल्थ डेस्कबाट सेवा लिँदै आइरहेका छन्।

हालसम्म भारतीय सीमा सुरक्षा बल (एसएसबी) का १२ ले एचआईभी एड्स र मलेरियाको जाँच गरेको इन्चार्ज विकले बताए। रोगको लक्षण देखिँदा बिरामीलाई निःशुल्करूपमा औषधिसमेत वितरण हेल्थ डेस्कले गर्दै आएको छ। भन्सारमा हेल्थ डेस्क सञ्चालन भएपछि टीकापुरका वडा नं. ८ र ९ का सीमाक्षेत्रमा बसोबास गर्ने व्यक्तिसमेत उपचारका लागि हेल्थ डेस्कमा नै जाने गरेका छन्। हेल्थ डेस्कमा एक हेल्थ असिस्टेन्ट, एकजना अहेव, एक अनमी र एक कार्यालय सहयोगी गरी चार कर्मचारी कार्यरत छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार