सीएमसीमा भएकाे घटनाप्रति नेपाल चिकित्सक संघकाे आपत्ति
काठमाडौं : नेपाल चिकित्सक संघले आइतबार अपराह्न चितवन मेडिकल कलेज (सीएमसी) मा भएको घटनाको भर्त्सना गरेको छ।
उपचारको क्रमको भएको मृत्युको घटनालाई अतिरञ्जित गर्दै डाक्टर तथा स्वास्थ्यकर्मीमाथि हातपात गर्ने र अस्पताल तोडफोड गर्नेजस्ता अमानवीय आपराधिक गतिविधि भएको भन्दै सोमबार विज्ञप्ति निकालेर संघले आपत्ति जनाएको हो।
‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई अपराधिक समूहहरुले लखेटी लखेटी शारीरिक हातपात गर्ने, तोडफोड गर्ने जस्तो जघन्य अपराध हुनुले स्वास्थ्यकर्मी तथा चिकित्सकहरुबाट स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण नभएको र यसबाट उत्पन्न हुने परिस्थितिप्रति चिकित्सक तथा स्वास्थ्यकर्मीहरु जिम्मेवार हुन नसक्ने व्यहोरा जानकारी गराइन्छ’, महासचिव डा. लोचन कार्कीद्वारा विज्ञप्तिमा भनिएको छ।
संघले यस्तो क्रियाकलापको सशक्त विरोध गर्न र नेपाल चिकित्सक संघ चितवन शाखाले गर्ने कुनै पनि विरोधका कार्यक्रमलाई सशक्त बनाउन चिकित्सकहरूलाई आग्रह गरेकाे छ।
घटनामा संलग्न भएका व्यक्तिहरुलाई अविलम्ब पक्राउ गरी कारवाही नभए स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि देशभर आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न बाध्य हुने संघले जनाएको छ।
नाकको अप्रेसन गर्न आएकी नवलपरासी मध्यबिन्दु नगरपालिका ९ की ३२ वर्षीय आशा ज्ञवालीको उपचारका क्रममा शनिबार मृत्यु भएको थियो। ज्ञवालीको अस्वभाविक मृत्यु भएको भन्दै आइतबार अपराह्न अस्पतालमा तोडफोड भएकाे थियाे।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित