Health TV Online
Health TV Online
Health TV Online

रक्तसञ्चार केन्द्रमा रगत अभाव

रक्तसञ्चार केन्द्रमा रगत अभाव

नेपालगञ्ज : चाडपर्वका कारण रक्तदान कार्यक्रम नहुँदा नेपालगञ्जस्थित रक्तसञ्चार केन्द्रमा रगत अभाव देखिएको छ। दशैँ अवधिमा रक्त संकलन नभएका कारण रगतको मौज्दातमा कमी आएको नेपाल रेडक्रस सोसाइटीको नेपालगञ्जस्थित क्षेत्रीय रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले बताए।

सामान्य अवस्थामा तीन सय पिन्टभन्दामाथि नै रगत मौज्दात रहने भए पनि अहिले त्यो भन्दा कमी भएकाले रक्तदातालाई आह्वान गरेको उनले जानकारी दिए।

बाँकेमा सञ्चालित अस्पतालमा आउने बिरामीको सङ्ख्या बढेसँगै अहिले दैनिक सरदर ४० देखि ४५ पिन्टसम्मको रगत माग हुने गरेको नेपाल रेडक्रस क्षेत्रीय रक्त सञ्चार केन्द्र नेपालगञ्जले जनाएको छ । दैनिक रूपमा नेपालगञ्जबाट २५ देखि ३० र कोहलपुरबाट १५ देखि २० पिन्ट रगत माग हुने गरेको केन्द्रका प्रमुख रेग्मीले जानकारी दिए। साबिकको मध्य तथा सुदूरपश्चिमका जिल्लाबाट उपचारका लागि यहाँ बिरामी आउने गर्छन्।

सबभन्दा धेरै भेरी अञ्चल अस्पताल, शिक्षण अस्पताल नेपालगञ्ज र शिक्षण अस्पताल कोहलपुरमा रगतको खपत हुने गरेको उनले बताए। नेपालगञ्जमा ठूलासाना गरी करिब २४ अस्पताल सञ्चालनमा छन्। रक्त सञ्चार केन्द्रमा जम्मा भएको रगत ३५ दिनभित्रै प्रयोग गरिसक्नुपर्ने भएकाले धेरै स‌ंकलन गर्नुभन्दा पनि नियमित गर्नेतर्फ आफूहरुको ध्यान हुने गरेको प्रमुख रेग्मीको भनाइ छ ।

नेपाल रेडक्रस सोसाइटीको नेपालगञ्जस्थित क्षेत्रीय रक्त सञ्चार केन्द्रमा रगत अभाव भएसँगै बाँकेमा सामाजिक संस्थाहरूले रक्तदान कार्यक्रम शुरु गरेका छन्। लायन्स क्लब, नेपाल जेसिज, सहकारी संस्थाले रक्तदान आयोजना गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ।

शनिबार मात्रै लायन्स क्लब अफ नेपालगञ्ज क्रिएटिभ, नेपालगञ्ज जुनियर जेसिज, भेरी वित्तीय सहकारी संस्थाले रक्तदान कार्यक्रम गरेको केन्द्रका प्रमुख रेग्मीले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार