Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

दशैँमा रातो मासु धेरै नखान चिकित्सकको सुझाव

दशैँमा रातो मासु धेरै नखान चिकित्सकको सुझाव

दशैँको बेला अत्यधिक मासु खपत हुन्छ । ‘घरमा खसीबोका मार नहानिएकाे दशैँ के दशैँ’ भनिन्छ। घरमै काट्न नसक्नेहरूले पनि बजारबाटै भए पनि प्रशस्त मासु ल्याएर खाने गर्छन्। कार्यक्षेत्रमा विदा, आफन्तको जमघट र फुर्सदको समय हुनाले यो वेला बढी मासु खाने चलन छ।

अचेल हाम्रो समाजमा मधुमेह, उच्च रक्तचाप, मुटुराेग कोलेस्टोरोल नहुने घर कमै छन् भने फरक नपर्ने भइसकेको छ। त्यसैले मासु खाँदा विशेष ध्यान पुर्याउनुपर्छ। कहिलेकाहीँ अस्वस्थकर मासु र बढी सेवनका कारण दशैँको समयमा अस्पतालको बास समेत हुन पुग्छ। यही सेरोफेरोमा रातो मासु धेरै खाँदा स्वास्थ्यलाई हानि गर्ने चिकित्सकहरू बताउँछन्।

दशैँका वेला मासु खाने त हो नि भनेर ध्यान नदिँदा धेरै जना अस्पताल पुग्ने गरेको डा. सुनिल पौडेल बताउँछन्। ‘खानपानमा ध्यान नदिने त छँदैछ, शारीरिक व्यायाम पनि हुँदैन’, उनी भन्छन्, ‘त्यसैले यो वेला बढी मानिस बिरामी परेर अस्पतालसम्म पुग्ने गरेका छन्।’

यो समयमा विशेषगरी झाडाबान्ता लाग्ने, पेट दुख्ने र ग्याष्ट्रिकको समस्या लिएर आउनेको संख्या बढी हुने पौडेल बताउँछन्। ‘एकैपटक रातो मासु खाँदा कतिकोे पाचन प्रक्रियामा नै समस्या हुन्छ’, उनी भन्छन्।

दीर्घरोगीले त दशैँ मनाउने क्रममा झन् धेरै सावधानी अपनाउनुपर्छ। मधुमेह भएका बिरामीले दशैँ तिहारपछि सुगर बढाएर आउने गरेको बताउँछिन्, मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराई। ‘दशैँतिहारलगत्तै सुगर अनियन्त्रित भएर आउने बिरामीलाई हेर्न भ्याइ नभ्याइ हुन्छ’, उनी भन्छिन्, ‘कतिपयले त औषधि समेत नियमित खान बिर्सिन्छन्। जसले गर्दा समस्या आउँछ।’ यस्ता बिरामीले चाडबाड भन्दा पनि स्वास्थ्यलाई बढी ख्याल गर्नुपर्ने सुझाव उनी दिन्छिन्।

क्यान्सरका बिरामीको हालत पनि उस्तै हुन्छ। दशैँको रमझममा परेर औषधि नै खान छाडिदिन्छन्। बिरामीले अलिकति त हो नि भनेर मुख छोडदिँदा समस्या हुने गरेको अनुभव सुनाउँछन्, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्रप्रसाद बराल। ‘क्यान्सरका बिरामीले मासु खानै नहुने भन्ने होइन’, उनी भन्छन्, ‘उमालेर, कम मसला राखेर थोरै थोरै खान हुन्छ। अथवा आफ्नो डाइटिसियनसँग सल्लाह गरेर खान सकिन्छ।’

अर्का क्यान्सर विशेषज्ञ डा. विष्णुदत्त पौडेल खसीको मासुभन्दा कुखुरा वा माछा खानु राम्रो भन्छन्। घरमा खसी काटेर धेरै दिनसम्म राखेर खानुभन्दा थोरै फ्रेस मासु किनेर स्वस्थकर ढंगले पकाएर खानु राम्रो हुने उनी बताउँछन्। ‘तर रातो मासु पोलेर खानु त स्वास्थ्यका लागि अत्यन्त हानिकारक छ’, उनले भने। छाला नभएको मासु खान पनि डा. पौडेलको सुझाव छ।

ठिक्क मात्रामा स्वस्थकर मासु खाँदा यसले फाइदा गर्ने भए पनि जथाभावी र बढी प्रयोगले समस्या निम्त्याउने चिकित्सकको भनाइ छ। दशैँका नाममा अनियन्त्रित मासु सेवनबाट जोगिनुपर्ने उनीहरूको भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन