मेडिकल कलेज सञ्चालकलाई शिक्षामन्त्री पोखरेलले भने, आफूखुशी वृद्धि गरेको शुल्क फिर्ता गर्नुस्
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले निजी मेडिकल कलेज सञ्चालकलाई आफूखुशी वृद्धि गरेको शुल्क फिर्ता गर्न आग्रह गरेका छन्।
अनेरास्ववियुले मंगलबार गरेको ‘चिकित्सा शिक्षाका समस्या तथा ऐन कार्यान्वयनको सवाल’ विषयको अन्तरक्रिया कार्यक्रममा उनले सरकारले तोकेको मापदण्डअनुसार नै मेडिकल सञ्चालकलाई शुल्क लिन आग्रह गरेका हुन्।
राससका अनुसार उनले वृद्धि शुल्क फिर्ता नगरे कडा कदम चाल्ने चेतावनी दिए। मन्त्री पोखरेलले विश्वविद्यालय, प्रतिष्ठान, निजी कलेजसँगको सहमतिमा नयाँ शुल्क तोक्नका लागि कार्यदल बनेको समेत जानकारी दिए।
उनले सबैको साझा प्रयासबाट राष्ट्रिय चिकित्सा शिक्षा ऐन बनेको भन्दै कार्यान्वयन गरेर चिकित्सा क्षेत्रका विकृतिलाई सुधार गरिने बताए। मुलुकलाई शैक्षिक केन्द्र बनाउन सरकार दृढ रहेको भन्दै उनले गुणस्तरीय शिक्षामा कसैसँग पनि सम्झौता नगरिने बताए।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता खगराज अधिकारीले निजी कलेजले तोकिएको मापदण्डमा कलेज सञ्चालन गर्न नसके राज्यलाई हस्तान्तरण गर्नुपर्ने बताए।
नेपाली कांग्रेसका नेता एनपी साउदले ऐनमा भएका कमजोरीलाई सुधार गरेर जानुपर्ने बताए। अनेरास्ववियुका अध्यक्ष ऐन महरको अध्यक्षतामा भएको निजी मेडिकल कलेज एसाेसियसनका महासचिव सुनिल शर्माले ऐन लागू गर्न आफूहरू तयार रहेको भन्दै ऐनअनुसार नयाँ शुल्क तोक्नुपर्ने बताए।
नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महरले सरकारको मापदण्डअनुसार निजी कलेजले चिकित्सा शिक्षा चलाउन नसके सरकारीकरण गर्नुपर्ने बताए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित