विपन्न नागरिक कोषबाट जिल्लाका २३७ बिरामीले लिए सेवा
गुल्मी : सरकारले सञ्चालन गरेको विपन्न नागरिक कोषबाट जिल्लाका २३७ बिरामी लाभान्वित भएका छन्। तीमध्ये सबैभन्दा धेरै मुटु र अर्बुदरोगका बिरामी छन्।
गत आर्थिक वर्षको शुरुदेखि हालसम्म मुटुरोगका ९५ र अर्बुद रोगका ८३ गरी कुल १७८ बिरामी छन्। त्यो कुल संख्याको ७५.१० प्रतिशत हो। यसमध्ये पनि मुटुरोगतर्फ ४८ महिला र ४७ पुरुष तथा अर्बुदरोगका ५० महिला र ३३ पुरुषले सेवा पाएका छन्।
विपन्न नागरिकको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै सरकारले २०६८ बाट विपन्न नागरिक सहायता कोष सञ्चालन गरेको थियो। विपन्न नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गर्न सरकारले उक्त कोष सञ्चालन गर्ने निर्णय गरेको थियो। उक्त कोषबाट गुल्मीका नागरिकले हालसम्म दुई करोड ३५ लाख रूपैयाँको सेवा निःशुल्क प्राप्त गरेका छन्।
सबैभन्दा धेरै धुर्कोट गाउँपालिकाका बिरामी छन्। धुर्कोटमा नौ महिला र सात पुरुष गरी १६ मुटुरोगी र छ महिला तीन पुरुष गरी नौ अर्बुदरोग पीडित भेटिएका छन्।
गुल्मी अस्पतालका निमित्त प्रमुख डा. उत्तम पच्याले स्वास्थ्यमा ख्याल गरे मुटु र अर्बुदरोगबाट बच्न सकिने बताए। नियमित शारीरिक व्यायाम, मोटोपन घटाउने, पोषिलो खाना खाने, चिल्लो र नुन कम खानेलगायतका उपाय अपनाए अर्बुदरोग र मुटुरोगबाट बच्न सकिने उनले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण