Health TV Online
Health TV Online
Health TV Online

कस्मेटिक्सको मापदण्ड निर्धारण

कस्मेटिक्सको मापदण्ड निर्धारण

काठमाडौं : सरकारले तीन समूहका सौन्दर्य प्रशाधन (कस्मेटिक्स) को लागि मापदण्ड तोकेको छ। उद्योगमन्त्री मातृकाप्रसाद यादवको अध्यक्षतामा हालै बसेको नेपाल गुणस्तर परिषद्को १०१ औँ बैठकले नेपालमा आयात, उत्पादन, बिक्री वितरण एवं प्रयोग हुँदै आएका विभिन्न सौन्दर्य प्रशाधनहरूको मापदण्ड पारित गरी लागु गर्ने निर्णय गरेको हो।

मापदण्डमा सौन्दर्य सामग्रीहरुका लागि चाहिने साधारण मिश्रण, अम्लीय वा क्षारीयपना, सूक्ष्म जीवाणुहरूको उपस्थितिलगायत विभिन्न घातक गर्हुंगा धातुहरू जस्तै सिसा (लिड), आर्सेनिक, पारो (मर्करी) र क्याडमियम आदिका अधिकतम मात्रासहितका विशेष मिश्रण, बट्टा\खोलसम्बन्धी व्यवस्था, सूचना (लेबलिङ) सम्बन्धी व्यवस्था, नमुना संकलन र परीक्षण प्रविधि आदिबारे समावेश गरिएको छ।

नेपाली बजारमा बिक्री वितरण र प्रयोग भइरहेका सौन्दर्य सामग्रीहरूमा पाइने गरिएका अत्यधिक पारो, सिसा, आर्सेनिक र क्याडमियमजस्ता रसायन विश्व स्वास्थ्य संगठनअनुसार मानव स्वास्थ्य र वातावरणमा असर पुर्याउने विभिन्न मुख्य १० अति घातक रसायनमध्येका चार प्रमुख रसायन हुन्। यी रसायनले स्नायु प्रणाली, स्मरण शक्ति, हेर्ने र सुन्ने क्षमतामा ह्रास, प्रजनन प्रणाली, नवजात शिशु, महिला, शिशुको वृद्धि विकासमा अवरोध पुर्याउनुको साथै मिर्गौला, मुटु, फोक्सो, क्यान्सर, हाड कमजोर वा भाँचिने, मस्तिष्कमा हानि पुर्याउँछन्।

यी मापदण्डहरूको प्रभावकारी कार्यान्वयनबाट नेपाल पक्षधर रहेका संयुक्त राष्ट्रसंघीय बालअधिकार महासन्धि, महिलाविरुद्ध सबैप्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि र मिनामाता मर्करी महासन्धिहरूले अन्तर्राष्ट्रिय रूपमा अनुसरण गरेकोे उद्देश्य पूरा गर्न पनि सहयोग पुग्ने जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक रामचरित्र साहले बताए।

‘ठूलो परिणामा प्रयोग हुने कस्मेटिकका सामग्रीसम्बन्धी मापदण्ड नहुँदा जनस्वास्थ्य र खासगरी बालबालिका, गर्भवती तथा स्तनपान गराइरहेका महिलाको स्वास्थ्यमा अनेक समस्या आइरहेको अवस्थामा सरकारले मापदण्ड ल्याएर राम्रो काम गरेको छ’, उनले भने। कस्मेटिकसम्बन्धी मापदण्डअनुसार आवश्यक ऐन र नियमावली बनाउन पनि उहाँले माग गरे।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार