Health TV Online
Health TV Online
Health TV Online

नियन्त्रणमा आउँदै डेंगु

नियन्त्रणमा आउँदै डेंगु

चितवन : जिल्लामा प्रकोपका रूपमा देखिएको डेंगु नियन्त्रणमा आउने क्रममा लागेको छ।

स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार भदौ तेस्रो र अन्तिम साता अत्यधिक बढेको डेंगुको संक्रमण घटेको छ। उनका अनुसार सबैभन्दा बढी भदौ अन्तिम साता एक हजार ३२५ जनामा संक्रमण देखिएको थियो । भदौ तेस्रो साता ६९२, दोस्रो साता ४१२ र पहिलो साता २७३ जनामा डेंगुको सङ्क्रमण देखिएको थियो। साउन पहिलो साता आठ जनामा मात्र संक्रमण देखिएको तिवारीले जानकारी दिए।

‘असोज पहिलो साता संख्या घटेर तीन सय हाराहारीमा आएको छ’, उनले भने। एउटा अस्पतालबाहेक अन्यमा संकलन भएको तथ्याङ्कअनुसार असोज पहिलो साता २८९ जनामा सङ्क्रमण देखिएको छ। त्यसमध्ये पनि केही भदौमै बिरामी भएर अहिले दर्ता भएको तिवारीको भनाइ छ। सङ्क्रमण दर क्रमशः घट्दै गएको र डेंगुनियन्त्रणमा आउने क्रममा रहेको तिवारीले बताए।

कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार साउनयता हालसम्म १० हजार ५६१ जनाको नमुना परीक्षण गरिएकामा तीन हजार ४०९ जनामा संक्रमण देखिएको छ। यो संख्या क्रमशः घट्दै गएकाले आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ। भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख वरिष्ठ फिजिसियन डा. प्रकाश खतिवडाका अनुसार दैनिक १०० जनासम्म बिरामी आउने गरेकामा घटेर पाँच जनाभन्दा तल पुगेको छ।

राससका अनुसार भदौ अन्तिम साता बहिरंग सेवामा मेडिकल विभागमा ९०० नयाँ बिरामी उपचार गर्न आएका थिए भने ७०० जना ज्वरो आएका रहेकामा १०० जनामा डेंगुको सङ्क्रमण भेटिएको थियो । बुधबार बहिरंग सेवाको मेडिकल विभागमा ५०० जना परीक्षणका लागि आएकामा १०० जनालाई ज्वरो आएको र तीमध्ये न्यून मात्र डेंगुका रहेको उनले बताए।

खतिवडाले दिनको तापक्रम २५ डिग्रीभन्दा तल झरेर गए यो संख्या अझै घट्दै जाने बताइन्छ। फाट्टफुट्ट बिरामी भने कात्तिकसम्म आइरहने चिकित्सकहरू बताउँछन्।

डेंगुका कारण चितवनमा दुई जनाको मृत्यु भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार