काठमाडाैंमा शुक्रबारदेखि बाथरोग चिकित्सक सम्मेलन हुने
काठमाडौं : नेपालमा दुईदिने बाथरोग चिकित्सक सम्मेलन हुने भएको छ। दक्षिण एसियाली देशमा बाथरोगको अवस्था, पछिल्ला उपचार प्रविधि, समस्या तथा रोगबारे जनचेतना जगाउने ध्येयले काठमाडौंमा बाथरोग सम्मेलन हुन लागेको हो।
नेपाल बाथरोग संघद्वारा यही असोज १० र ११ गते हुने सो दुईदिने सम्मेलनमा दक्षिण एसियाली क्षेत्रका नेपाल, भारत, पाकिस्तान, श्रीलंका, भूटान, बंगलादेशलगायतका ५० विशेषज्ञ र नेपालका १२५ चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता रहनेछ। नेपालमा पहिलो पटक आयोजना हुन लागेकाे सम्मेलनले बाथरोगसम्बन्धी काठमाडौं घोषणापत्रसमेत जारी गर्नेछ।
संघका कार्यसमिति सदस्य एवं बाथरोग विशेषज्ञ श्वेता नकर्मीका अनुसार सम्मेलनमा सहभागी देशले बाथरोग उपचारका अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नेछन्। नेपालमा कुल जनसंख्याको १० प्रतिशत अर्थात् ३० लाख मानिसलाई कुनै न कुनै प्रकारका बाथरोगको समस्या छ। तीमध्ये करीब १५ प्रतिशत मात्र उपचारको पहुँचमा पुग्ने गरेका जनाइएको छ ।
करीब ७० प्रतिशत बाथरोगीले औषधि खाँदाखाँदै बीचमै छाड्ने र नेपालमा बाथरोग विशेषज्ञ चिकित्सक करिब ३० जना मात्र छन्।
नेपालमा बढी मात्रामा युरिक एसिड, हाडजोर्नी सुन्निने, हाड खिइने र मेरुदण्डको हाड दुख्ने बढी देखिने गरेकाे चिकित्सककाे भनाइ छ। साथै बालबालिका बढी मात्रामा जोर्नी दुख्ने बाथरोगबाट ग्रसित भएको पाइन्छ।
हाडजोर्नी दुख्ने, सुन्निने कक्रक्क हुने, घुँडा, कुहिनो दुख्ने, सामान्य ज्वरो आउने लगायत लक्षण बाथरोगका हुन्। समयमा उपचार नभएमा आँखा, मिर्गौला र मुटुलाई समेत असर पुर्याउने चिकित्सक बताउँछन्।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त