डाेटी स्वास्थ्य बिमा लागु गर्ने सुदूरपश्चिमकाे पहिलाे जिल्ला
डोटी : जिल्लामा पनि ‘स्वास्थ्य बिमा कार्यक्रम’ शुरु भएको छ। जिल्लाका नौवटै स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकायसँगैको अभिमुखीकरण गोष्ठीमा स्वास्थ्य बीमा बोर्ड काठमाडौँले देशकै ४८ औँ जिल्लाका रूपमा डोटीमा ‘स्वास्थ्य बीमा कार्यक्रम’ शुरु भएको जानकारी दिएको हो।
२०७२ चैत २५ गतेदेखि कैलाली जिल्लाबाट शुरु गरिएको उक्त कार्यक्रम डोटी र डडेल्धुरामा लागू भएपछि ‘स्वास्थ्य बिमा कार्यक्रम’ लागु गर्ने सुदूरपश्चिम प्रदेश देशकै पहिलो प्रदेश बन्ने स्वास्थ्य बीमा बोर्ड टेकु काठमाडौँका जनस्वास्थ्य निरीक्षक भरत बोहराले बताए।
स्वास्थ्य बिमा कार्यक्रम जिल्लाभर लागु गर्न सबै स्थानीय तहका वडा–वडामा दर्ता सहयोगी जनशक्ति राख्ने स्वास्थ्य बीमा बोर्डले जनाएको छ। स्वास्थ्य बिमा कार्यक्रम लागू गर्न बाँकी जिल्लामा क्रमशः कार्यक्रम विस्तार गर्दै लैजाने स्वास्थ्य बिमा बोर्डले नीति लिएको बताइएको छ।
नेपाली जनताको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बीमाका आधारमा सबैको स्वास्थ्य सेवा सुनिश्चित गर्ने राष्ट्रिय स्वास्थ्य बिमा नीति विसं २०७१ को दीर्घकालीन लक्ष्यअनुसार कार्यक्रम अघि बढाइएको दिपायल सिलगढी नगरपालिकाका स्वास्थ्य एकाइ संयोजक राजु खड्काले बताए।
स्वास्थ्य बिमा गर्नका लागि पाँच जनासम्मको परिवारले वार्षिक तीन हजार ५०० रूपैयाँ र पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्यको थप ७०० रूपैयाँ बिमा रकम तिर्नुपर्ने व्यवस्था छ। स्वास्थ्य बीमा गरेमा सरकारले निःशुल्क प्रदान गर्ने सेवासँगै बहिरंग, अन्तरंग र आकस्मिक कक्षबाट प्रदान गरिने सेवा, स्वास्थ्य बिमा कार्यक्रमले तोकेका निदानात्मक र परीक्षण सेवा पनि पाउने छन्।
त्यस्तै पाँच जनाको परिवारले आवश्यक पर्दा वार्षिक एक लाख र पाँच जनाभन्दा बढी सदस्य भएका परिवारले प्रति थप सदस्य २० हजार थप गरी दुई लाख रुपैयाँ सम्मको स्वास्थ्य सेवा उपभोग गर्न पाउने व्यवस्था रहेको छ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त