स्क्रब टाइफस के हो? कसरी बच्ने?
एक प्रकारको जीवाणु ‘रिकेटसिया सुसुगामुसी’ले संक्रमित सुक्ष्म कीरा (माइट)को टोकाइबाट लाग्ने रोगलाई स्क्रब टाइफस भनिन्छ।
कीटजन्य रोग व्यवस्थापन गर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख एवं कीटजन्य रोग विशेषज्ञ चिकित्सक विवेक लालका अनुसार बारी, खेत, झाडी, घाँस आदि भएको ठाउँमा बस्ने मुसा तथा छुचुन्द्रो प्रजातिमा यो प्रजातिका जीवाणु पाइन्छ । याे रोग उत्पन्न गर्ने ब्याक्टेरिया संक्रमित मुसाको पेटभित्रका प्वालहरूमा बस्छ।
संक्रमित व्यक्तिलाई अत्यधिक ज्वरो आउनु, श्वास फेर्न गाह्रो हुनु, बढी मात्रमा टाउको दुख्नु, शरीरबाट चिटचिट पसिना आउनु, शरीरका भागहरूमा ससाना रातो बिमिरा देखिनु, हल्का आँखा रातो हुनुजस्ता लक्षण देखा पर्छ। सामान्यतया संक्रामक परजीवीले टोकेको पाँचदेखि १४ दिनको अवधिमा स्क्रब टाइफसको लक्षण देखिन थाल्छ।
रोगको समयमा उपचार हुन नसकेमा शरीरका फोक्सो, कलेजो मस्तिष्कलगायतका अंगले काम गर्न छाड्ने चिकित्सकले जानकारी दिएका छन्। ‘रोगको जीवाणु शरीरमा फैलिन पुग्यो भने शरीरका अंगले काम गर्न छाड्छ’, उनले भने।
कसरी बच्ने?
मुसाको टोकाइबाट बच्नु नै यो रोगबाट बच्ने मुख्य उपाय हो। खेतबारीमा काम गर्न जाँदा पूरा बाहुला भएको कपडा लगाउनुपर्छ। खुला चौरमा सुत्नु हुँदैन। रोगको पहिचान बिरामीमा देखिएको लक्षण, सुक्ष्म कीराले टोकेको चिनोबाट हुन्छ।
यसैगरी रगत परीक्षण, फोक्सोको परीक्षणबाट हुन्छ। रोगको ‘एन्टिबडी’ पत्ता लगाउन एलाइजा टेस्ट र द्रुत परीक्षण गरिन्छ। महाशाखाले सबै जिल्लामा रोग पहिचान गर्न कीटको व्यवस्था गरेको जनाएको छ।
रासस





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा