स्क्रब टाइफस संक्रमण बढ्दै, मृत्युदर घट्दै
काठमाडौं : पछिल्लो समय मुख्य रूपमा मुसाको टोकाइ र संक्रमणबाट मानिसलाई लाग्ने ‘स्क्रब टाइफस’ नामक रोगको संक्रमण अधिकांश जिल्लामा फैलिएको छ।
कीटजन्य रोग व्यवस्थापन गर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दिएको जानकारीअनुसार हाल देशका ६३ जिल्लामा रोग देखापरेको छ। सन् २०१९ को आठ महिनामा ५५५ जनामा रोगको संक्रमण भएको र तीन जनाको मृत्यु भएको छ।
राससका अनुसार अघिल्ला तीन वर्षमा सोही रोगका कारण १६ जनाले अकालमा ज्यान गुमाएका थिए। जेठ महिनाको अन्तिमदेखि कात्तिक महिनाभर रोगको उच्च जोखिम मानिन्छ। सन् २०१६ मा ४८ र सन् २०१८ मा ५६ जिल्लामा यो रोग देखापरेको थियो।
महाशाखाका अनुसार सन् २०१७ मा ६७० संक्रमित भई नौ, सन् २०१८ मा एक हजार ९८ मा संक्रमित भई चार जनाको मृत्यु भएको थियो। सन् २०१९ को हालसम्म रोगको सबैभन्दा बढी संक्रमण प्रदेश ५ का जिल्लामा २२४ जनामा देखा परेको छ। सबैभन्दा कम कर्णाली प्रदेशमा आठ जनामा देखापरेको महाशाखाले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ।
प्रदेश १ का इलाम, झापा, मोरङ, सुनसरी, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुंगा, भोजपुर, धनकुटा, प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सामा यो रोग देखिएको छ। यस्तै प्रदेश ३ का सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, नुवाकोट, धादिङ, मकवानपुर, चितवन र गण्डकी प्रदेशका गोरखा, तनहुँ, लमजुङ, स्याङ्जा, कास्की, पर्वत, बाग्लुङ, र नवलपरासी पूर्वमा स्क्रब टाइफस देखापरेको महाशाखाले जनाएको छ।
यसैगरी प्रदेश ५ का गुल्मी, पाल्पा, नवलपरासी, रूपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, रोल्पा, रुकुमपूर्व, दाङ, बाँके, बर्दिया, नवलपुर र कर्णाली प्रदेशका सल्यान, सुर्खेत, जाजरकोट, कालिकोट, रुकुम पश्चिम, सुदूरपश्चिमाञ्चल प्रदेशका बाजुरा, बझाङ, डोटी, कैलाली, कञ्चनपुर, डडेलधुरा र बैतडीमा पनि रोग देखिएकाे छ।
विसं २०७२ वैशाखमा विनाशकारी भूकम्पपछि बढी मात्रामा मुसा देखिन थालेका र तिनको टोकाइबाट रोगको संक्रमण बढेको महाशाखाले जनाएको छ। ‘मृत्युदर घट्दै गएको छ तर संक्रमित बढ्दै गएको छ’, कीटजन्य रोग व्यवस्थापन गर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख एवं कीटजन्य रोग विशेषज्ञ चिकित्सक विवेक लालले भने।
रोगको परीक्षण गर्न महाशाखाले स्थानीय तथा प्रदेश तहमा १० हजारको हाराहारीमा किट उपलब्ध गराएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ चिकित्सक अनुप बाँस्तोला विशेषगरी मुसाको शरीरमा बस्ने माइट नामक परजीवीले ओरेन्टिया सुसुगामी नामक कीटाणु सार्दा स्क्रब टाइफस हुने बताउँछन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण