डेंगुका कारण आपतकाल घोषणा गर्नुपर्ने अवस्था छैन: स्वास्थ्यमन्त्री यादव
काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले डेंगु रोगका कारण आपतकालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नरहेको बताएका छन्।
डेंगुले जनमानस त्रसित भइरहे पनि ३ महिनासम्म केही नबोलेका मन्त्री यादवले बुधबार संसदमा विशेष समय लिएर बोल्दै डेंगुले महामारीको रुप नलिएको जीकिर गरे ।
संसदमा सांसदहरुले पटकपटक डेंगुको नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयले के गरिरहेकाे छ भनेर प्रश्न गरिहे पनि मन्त्री यादव भने केही बोलेका थिएनन्। यही विषयलाई लिएर उनको राजिनामा समेत माग गरिएको थियो ।
संसदमा मन्त्री यादवले डेंगुको छुट्टै औषधि एवं खोप नभएकाले यसलाई नियन्त्रण गर्न गाह्रो भएको भन्दै डेंगु अहिले भने कम हुँदै गएको बताए । मन्त्री यादवले लामखुट्टेको नियन्त्रण नै यसबाट बच्ने सबैभन्दा उत्तम उपाय भएको बताए । लामखुट्टे र यसकाे लार्भा खोज्ने र नष्ट गर्ने उपाय नै संसारभर चलनमा रहेकाले मन्त्रालयले पनि यो अभियान चलाइरहेको समेत उनले जानकारी दिए ।
विकसित देशमा समेत डेंगुले सताइरहेको भन्दै यसलाई नियन्त्रण गर्न स्वास्थ्यकर्मीहरुले हरसम्भव प्रयास गरिरहेको उनले जानकारी दिए । सरकारी तथ्यांक अनुसार वैशाख यता डेंगुका कारण नौ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् भने ७ जनाको मृत्यु भइसकेको छ ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त