विद्यार्थीकाे आन्दोलनले सीएमसीकाे पठनपाठन १६ दिनदेखि ठप्प
चितवन : सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले आन्दोलन गरेपछि १६ दिनदेखि पठनपाठन ठप्प छ। कलेजको २६ वटा सङ्कायमा दुई हजार विद्यार्थी अध्ययनरत छन्।
विद्यार्थी प्रकाश चन्दको नेतृत्वमा गठित चिकित्सा शिक्षा संघर्ष समितिले आन्दोलनको नेतृत्व गरिरहेको छ। चन्दले सरकारले तोकेभन्दा बढी शुल्क चितवन मेडिकल कलेजले असुल गरेकै कारण आन्दोलन गर्नुपरेको बताए। शुल्क नघटेसम्म आन्दोलन जारी रहने उनले बताए।
मुख्यरूपमा एमबीबीएसमा सरकारले तोकेभन्दा १२ लाख रुपैयाँ बढी शुल्क कलेजले असुल गरेको चन्दको दाबी छ। यता कलेज प्रशासनले भने सरकारले तोकेभन्दा बढी शुल्क नलिएको जिकिर गर्दै आएको छ । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)ले एमबीबीएसका लागि ४२ लाख रुपैयाँ शैक्षिक शुल्क तोकेको बताए।
यसका अतिरिक्त आईओएमलाई जनाकारी गराएर परीक्षा शुल्क, इन्टर्नसिप शुल्क र समुदायमा जाँदा हुने खर्च गरी छ लाख रुपैयाँ मात्र अतिरिक्त शुल्क लिएको उनको भनाइ छ। शुल्कका विषयमा विवाद भएपछि प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य संसदीय समितिले अध्ययन गरेको भन्दै न्यौपानेले सो समितिले दिएको प्रतिवेदन र सुझावअनुसार अघि बढ्न तयार रहेको बताए।
कलेज बन्द हुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको भन्दै उहाँले तत्काल आन्दोलन फिर्ता लिएर नियमित पठनपाठनमा सहयोग पुर्याउन आग्रह गरे। नेपालमा सञलित सबै मेडिकल कलेजमा यस्ता समस्या भए पनि सीएमसीमा मात्र आन्दोलन भएको उनको भनाइ छ।
रासस





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित