Health TV Online
Health TV Online
Health TV Online

परिवार नियोजन साधनकाे प्रयोग गर्नेमा साक्षरभन्दा असाक्षर महिला बढी

परिवार नियोजन साधनकाे प्रयोग गर्नेमा साक्षरभन्दा असाक्षर महिला बढी

काठमाडौं : परिवार नियोजनको आधुनिक साधन प्रयोग गर्नेमा शिक्षितभन्दा अशिक्षित महिला बढी रहेका एक सर्वेक्षणले देखाएको छ।

शिक्षा हासिल नगरेका ५२ प्रतिशत महिलाले आधुनिक साधन र सेवा प्रयोग गर्ने तथा माध्यामिक शिक्षा वा सोभन्दा बढी हासिल गरेका ३४ प्रतिशत महिला मात्रै आधुनिक परिवार नियोजनका साधन प्रयोग गर्ने गरेका छन्।

विवाहित महिलामा परिवार नियोजनका साधन तथा सेवाको प्रयोगदरमा उल्लेखनीय सुधार आएको देखिँदैन। सन् १९९६ मा प्रयोगदर २९ प्रतिशत रहेकामा हाल ५३ प्रतिशत मात्र पुगेको छ। ‘आधुनिक परिवार नियोजनको साधनको प्रयोगदर घट्दो र परम्परागत विधि अपनाउनेको दर बढ्दो छ, उल्टो प्रक्रिया भयो’, वरिष्ठ स्त्रीरोग विशेषज्ञ चिकित्सक साधना तुलाधरले भनिन्।

नेपालका १५ प्रशित विवाहित महिला कम्तीमा दुई वर्षको अन्तरालमा बच्चा जन्माउन चाहन्छन्। यस्तै ६१ प्रतिशत महिला दुई बच्चा जन्माइसकेपछि अर्को बच्चा जन्माउन चाहँदैनन्। अर्को बच्चा जन्माउन नचाहने महिलाका लागि परिवार नियोजनका साधनको माग हुन्छ। यस्तो माग गर्ने महिलाको संख्या ७६ प्रतिशतभन्दा माथि छ।

परिवार नियोजनका आधुनिक साधन, मातृत्व र नवजात शिशु स्याहारमा लगानी बढाउन आवश्यक रहेको छ । परिवार नियोजनको आधुनिक साधनको चाहना हुँदाहुँदै पनि हरेक वर्ष अनुमानित पाँच लाख ३९ हजार महिला अनिच्छित गर्भधारण गर्न बाध्य रहेका सोही कृपा नामक संस्थाको एक अध्ययनले जनाएको छ। सन् १९७६ मा ६.३ प्रतिशत रहेको प्रजननदर सन् २०१६ मा आइपुग्दा २.३ मा झरेको छ।

गर्भ निरोधकका साधन उपयोग गर्नेको संख्या २. ९ प्रतिशतबाट ५३ प्रतिशतमा उक्लिए पनि यसलाई खासै उपलब्धि मानिएको छैन। पछिल्लो समय नेपालमा आधुनिक गर्भनिरोधका लागि नौ प्रकारका साधन उपयोगमा आएका छन्। नेपालमा करिब ६४ प्रतिशत महिलाले मात्र विश्व स्वास्थ्य संगठनले सिफारिस गरेअनुसारका कम्तीमा चारपटक गर्भ परीक्षण, ६१ प्रतिशतले तालिमप्राप्त स्वास्थ्यकर्मीको सहायताले सुत्केरी हुने गर्छन्।

संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोषका सञ्चार तथा पैरवी अधिकृत सन्तोष क्षेत्री भन्छन्, ‘महिलालाई कहिले र किन बच्चा जन्माउने भन्ने निर्णय लिन सक्षम बनाउन आवश्यक छ, प्रजनन स्वास्थ्यसम्बन्धी ती विषयमा महिलासक्षम भए मात्र मातृ तथा बालस्वास्थ्य सुधार हुन्छ, सरकारले परिवार नियोजन सेवाको पहुँच विस्तार गर्न लगानी बढाउन आवश्यक छ।’ पछिल्लो समय नेपालमा पनि सानो परिवार तथा एकल परिवारप्रति मोह बढ्दैछ।

सानो परिवारका लागि परिवार नियोजनका आधुनिक साधनको माग बढ्दै गएको हो। गत वर्ष नेपालमा करीब १२ लाख महिला गर्भवती भएका थिए। तीमध्ये ४५ प्रतिशत अर्थात् पाँच लाख ३९ हजार गर्भ अनिच्छित रहेका थिए। परिवार नियोजनका आधुनिक साधनको पहुँच पुर्याउन र आवश्यकता पूरा गर्न तीन करोड ३० लाख अमेरिकी डलर लाग्ने जनाइएको छ।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार