Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यचाैकी भवनमा पानी पसेपछि सेवा प्रवाहमा कठिनाइ

स्वास्थ्यचाैकी भवनमा पानी पसेपछि सेवा प्रवाहमा कठिनाइ

खोटाङ : स्वास्थ्यचौकी भवन जीर्ण भएर भुँइमा पानी जमेपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ।

करिब २७ वर्षअघि निर्माण गरिएको भवन जीर्ण हुँदा बर्खाका वेला छानाबाट पानी चुहिने र भित्तातर्फको पर्खालबाट निस्कने पानी भुइँमा जमेर हिलाम्मे भएपछि सेवा प्रवाहमा समस्या भएको हो।

जीर्ण भवनमा निरन्तरको वर्षाका कारण पानी जमेकाले टेबलकुर्सी यताउता सार्दै दैनिक सेवा दिइरहेको स्वास्थ्य सहायक सन्तोष भट्टराईले बताए। भवनको कोठा होचो छ। भित्तासमेत लिपपोत गरिएको छैन।

तत्कालीन गाविस अध्यक्ष राजकुमार राईको पहलमा २०४९ मा निर्माण गरिएको भवनको तीन कोठामध्ये एउटा कोठामा प्रशासन र भण्डारणको काम गर्ने गरिएको भट्टराईले बताए। एउटा कोठाबाट बहिरङ सेवा तथा गर्भवती महिलाको गर्भ जाँच र अर्को कोठाबाट खोप तथा ड्रेसिङको काम सञ्चालन भइरहेको छ।

सुविधासम्पन्न भवन अभावमा गर्भ जाँचलगायत सेवा प्रवाहमा ज्यादै कठिन भएको भट्टराईले बताए। स्वास्थ्यचौकीको नाममा चार आना मात्र जग्गा भएकाले स्थानीयवासीबाट निःशुल्क जग्गा जुटाउने तयारी भइरहेको वडाध्यक्ष डिल्लीकुमार राईले जानकारी दिए।

घनाबस्ती रहेको खाल्लेस्थित स्वास्थ्यचौकीमा अहिले मौसम परिवर्तनसँगै दैनिक आउने बिरामीको चाप बढेको जनाइएको छ। भवन अभावमा सेवा प्रवाहमा समस्या भएपछि अधिकांश बिरामीलाई जिल्ला अस्पताल सिफारिस गरेको स्वास्थ्य सहायक भट्टराईले बताए।

स्वास्थ्यचौकीमा एक स्वास्थ्य सहायक, दुई अहेब र दुई अनमी कार्यरत छन्।

थप समाचार