Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अस्पतालकाे लापरवाहीले शिशुकाे मृत्यु

अस्पतालकाे लापरवाहीले शिशुकाे मृत्यु

बाँके : नेपालगञ्जस्थित भेरी अस्पतालकाे लापरबाहीले नवजात शिशुकाे मृत्यु भएकाे छ।

जाजरकोट, छेडागाड नगरपालिका–९ की २० वर्षीय कमला अधिकारीले शुक्रबार जन्माएकाे शिशुलाई अस्पतालले मृत घोषित गर्दै अन्त्येष्टिका लागि आफन्तको जिम्मा लगाएको थियो।

मृत्यु घोषणा गरिएको नवजात शिशुलाई अन्त्येष्टिस्थल पुर्याउँदा जीवित देखिएपछि शुक्रबार पुनः अस्पतालमा ल्याएर भर्ना गरिएको थियो। उपचारकाे क्रममा शुक्रबार राति शिशुकाे मृत्यु भएकाे हाे। महिना नपुगी जन्मेको शिशुको तौल ६०० ग्राम तौल थियो।

शिशुको मृत्यु भएपछि परिवार र आफन्तले शनिबार बिहानैदेखि अस्पतालमा आन्दोलन गरेका छन्। अस्पतालको चरम लापरवाहीका कारण शिशुको मृत्यु भएको उनीहरूको आरोप छ।

शुक्रबार बिहान प्रसूतिकक्षमा खटिएका नर्सहरूले जीवितै रहेको नवजात शिशुको मृत्यु भइसकेको घोषणा गरेका थिए।सामान्य अवस्थामा जन्मिएको शिशु केही घण्टापछि शिशुको मृत्यु भइसकेको भन्दै प्रसूतिकक्षमा कार्यरत कर्मचारीले अभिभावकलाई बुझ्न लगाएका थिए।

अस्पतालले ज्यूँदै शिशु मरेको भनेर कमलाका पति मिलन अधिकारीलाई कागजातमा हस्ताक्षर गराएर अन्त्येष्टि गर्न बुझाएको थियो। मृत्यु भइसकेको भनिएको शिशुलाई गाड्न अस्पतालका कर्मचारीले दुई हजार मागेपछि अधिकारीले रकम नदिने भन्दै नेपालगञ्ज बुलबुलियास्थित मसानघाट लगेका थिए। मसानघाटमा शिशुलाई गाड्न भनी खाल्डो खनेर तयार पारिएपछि शिशु जीवित नै रहेकाे खुलेकाे थियाे।

भेरी अस्पतालको चरम लापरवाहीका कारण ज्यूँदै बच्चालाई मृत घोषित गरेको समाचार सार्वजनिक भएपछि भेरी अस्पतालले आफ्नो गल्ती ढाकछोप गरिरहेको छ। प्रिम्याच्युयर (महिना नपुगी जन्मिएको) बच्चाहरूमा पूर्वानुमान गर्न गाह्रो हुने भन्दै भेरी अस्पतालले विज्ञप्ति जारी गरी आफ्नो गल्ती ढाकछोप गरेको हो।

‘समयावधि नपुगी जन्मिने र कम तौल भएका बच्चाको अवस्था चुनौतीपूर्ण हुन्छ । शारीरिक अवस्थाको कारणले गर्दा हुनपुगेको हाे। यस प्रकारका असावधानीहरु भविष्यमा हुन नदिन प्रतिबद्धता जाहेर गर्दछु’, भेरी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईँद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार