अस्पतालले मृत घाेषणा गरेकाे शिशु चल्मलाएपछि…
नेपालगञ्ज : सुत्केरी बेथा लागेपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएकी जाजरकोटकी कमला अधिकारीको सामान्य रूपमै शिशु जन्मियो।
शुक्रबार बिहान ५ बजे जन्मिएको केही समयमा अस्पतालले शिशुको मृत्यु भएको जानकारी कमलाका श्रीमान् मिलन अधिकारीलाई गरायो ।
अस्पतालको प्रसूतिकक्षमा कार्यरत कर्मचारीले शिशुको मृत्यु भएको भन्दै कपडामा पोको पार्दै पोलोथिनमा राखेर अन्तिम संस्कारका लागि थमाइयो। शिशु जन्मिएपछि खुशी भएका श्रीमान् मिलन एकाएक मलिन अनुहार बनाउँदै अन्तिम संस्कार गर्ने तयारी गर्न थाले।
छेडागाड नगरपालिका–९ जाजरकोटकी २० वर्षीया कमलाको शिशुलाई अस्पतालले मृत घोषित गर्दै अन्तिम संस्कारका लागि जिम्मा लगाएपछि मिलनले बुलबुलियातर्फ लैजाँदै गर्दा शिशु बिच बाटोमै चल्मलायो ।
‘प्रसूतिकक्षका कर्मचारीले तपाईंको बच्चा मरेको भन्दै पोलोथिनमा राखेर दिए। दुःखी हुँदै हामी पनि अन्त्येष्टि गर्न बुलबुलियातर्फ जाँदै थियौँ’, मिलनले भने, ‘अचानक बच्चा चल्मलाएपछि तुरुन्त अस्पताल ल्यायौँ।’
मरेको शिशुलाई गाडिदिने भन्दै अस्पतालका कर्मचारीले आफूसँग दुई हजार रुपैयाँसमेत मागेको उनले बताए। शिशुलाई अहिले आईसीयूमा भर्ना गरिएको छ। सो अस्पतालको रेकर्डअनुसार कमलाको २३ हप्तामा छोरीको जन्म भएको हो। सकुशल जन्मिएको शिशुको तौल ६०० ग्राम रहेको छ। गर्भवती भएदेखि नै अस्पतालकी डा. उर्मिला पराजुली रिसालसँग नियमित जाँच गराइरहेकी कमला जाँचकै लागि बिहीबार नेपालगञ्ज आएकी थिइन्।
नवजात शिशुलाई भेरी अस्पताल प्रसूतिकक्षमा कार्यरत कर्मचारीको लापरवाहीका कारण मृत घोषणा गरेपछि पीडितहरूले दोषीलाई कारवाहीको माग गरेका छन्।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त