Health TV Online
Health TV Online
Health TV Online

घरमा सुत्केरी हुन नदिन स्थानीय सरकारकाे अभियान

घरमा सुत्केरी हुन नदिन स्थानीय सरकारकाे अभियान

पाल्पा : घरमै सुत्केरी हुने दर शून्य बनाउन पाल्पाका स्थानीय सरकारले पूर्ण संस्थागत सुत्केरी अभियान कार्यक्रमलाई तीव्र पारेका छन् ।

संस्थागत सुत्केरी बढाउने नेपाल सरकारको नीतिअनुरूप पाल्पा जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले वडा वडा तहबाट घरमै सुत्केरी हुने दर घटाउने अभियानलाई जोड दिएका हुन्। मुलुकमा ७० प्रतिशतको हाराहारीमा संस्थागत सुत्केरी हुने दर रहे पनि पाल्पा जिल्लामा भने हाल ९० प्रतिशत रहेको पाइएको छ।

जिल्लाका पूर्वखोला गाउँपालिका, माथागढी गाउँपालिका, बगनासकाली गाउँपालिकाका केही वडा पूर्ण संस्थागत वडा घोषणा भइसकेका छन्। गत आर्थिक वर्षमा जिल्लामै पहिलो पटक माथागढी गाउँपालिका–३ को कसेनीलाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको थियो।

त्यस्तै बगनासकाली गाउँपालिकाको–२ पोखराथोक, पूर्वखोला गाउँपालिकाको ३, ५ र ६ वडालाई पनि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ। पूर्वखोलाका वडा नं १, २, ४ लाई पनि कात्तिक मसान्तभित्र पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्ने कार्यक्रम रहेको गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक मोहन ढकालले बताए।

पूर्ण संस्थागत सुत्केरी वडा घोषणा कार्यक्रमका लागि गाउँपालिकाले प्रतिवडा २५ हजार रुपैयाँ उपलब्ध गराएको छ। गत आर्थिक वर्षमा वडा नं १ मा सिलुवा स्वास्थ्य चौकीमा ४२, वडा नं २ को जल्पा स्वास्थ्य चौकीमा २०, वडा नं ३ को रिङ्नेरह स्वास्थ्य चौकीमा २५, वडा नं ४ को देवीनगर स्वास्थ्य चौकीमा १४ जनाले बच्चा जन्माएका छन्।

त्यस्तै वडा नं ५ को वीरकोट स्वास्थ्य चौकीमा ४१ र वडा नं ६ को हेक्लाङ्ग स्वास्थ्य चौकीबाट २७ जनाले प्रसूति सेवा लिएको गाउँपालिकाका स्वास्थ्य शाखाका उपसंयोजक ढकालले जानकारी दिए। घरमै सुत्केरी हुने दरलाई शून्यमा पुर्याउने लक्ष्य र सुत्केरी आमा र शिशुको ज्यान अकालमै नजाओस् भनेर स्वास्थ्य स्वास्थ्यमा नै पुगेर सेवा लिनका लागि सुत्केरी र उनका सहयोगीलाई गाउँपालिकाले  नै खानाको व्यवस्था गरेको उनले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार