Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

संसदमा डेंगु बहस : ‘स्वास्थ्य संकटकाल’ घोषणा गर्न प्रतिपक्षको माग

संसदमा डेंगु बहस : ‘स्वास्थ्य संकटकाल’ घोषणा गर्न प्रतिपक्षको माग

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डेंगुको संक्रमण बढ्दै गएको भन्दै ‘स्वास्थ्य संकटकाल’ घोषणा गर्न माग गरेको छ।

राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले डेंगु संक्रमण नियन्त्रण हुनुको साटो बढेको र सर्वसाधारण आतंकित बनेको भन्दै तत्काल संकटकाल घोषणा गर्न सरकारको ध्यानाकर्षण गरेका हुन्।

‘सरकार कुहिरोका काग बनेको छ। ७७ मध्ये ५६ जिल्लामा फैलिएको यो संक्रमण राष्ट्रिय महामारी हो कि होइन?’, अधिकारीले प्रश्न गरे, ‘यसलाई राष्ट्रिय विपत्ति मान्नु पर्छ कि पर्दैन? स्वास्थ्यको क्षेत्रमा यसलाई संकटकाल घोषणा गर्नुपर्छ कि पर्दैन? कतिजना मरेपछि यसले महामारीको रूप लिन्छ?’

उपचारमा संलग्न चिकित्सकदेखि मन्त्रीसम्मलाई संक्रमण हुँदा पनि सरकार तथा स्वास्थ्य मन्त्रालय जिम्मेवार बन्न नसकेको आरोप उनले लगाए। ३५० रुपैयाँ मात्रै पर्ने डेंगु जाँच्ने किट निजी अस्पतालहरूले दुई हजार ६ सय रुपैयाँसम्म लिने गरेको सांसद अधिकारीले दाबी गरे।

बैठकमा सत्तारुढ दलकी सांसद कोमल ओलीले पनि डेंगु संक्रमण नियन्त्रणका लागि सरकार गम्भीर बन्न नसकेको टिप्पणी गरिन्। केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर डेंगु तत्काल नियन्त्रण गर्न उनले सरकारको ध्यानाकर्षण गरिन्।

यता प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसदहरूले पनि डेंगुको संक्रमण बढ्दै गर्दा जनमानसमा त्रास फैलिएकाले तत्काल नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेकाे भन्दै सरकारको ध्यानाकर्षण गरेका छन्। सांसद विना देवी बुढाथोकीले डेंगु नियन्त्रण चुनौतीपूर्ण बनेको र संक्रमण फैलिँदै जाँदा सर्वसाधारण आतंकित भएको बताइन्।

सांसद सुजाता परियारले डेंगुबारे दैनिक कुरा उठाउँदा पनि सरकार गम्भीर नबनेको टिप्पणी गरिन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार