भरतपुर अस्पतालमा छुट्टै ‘ज्वरो क्लिनिक’
चितवन : ज्वरोका बिरामीको सङ्ख्या बढेपछि भरतपुर अस्पतालमा ‘ज्वरो क्लिनिक’ शुरु गरिएको छ। तीनवटा क्लिनिकबाट ज्वरोका बिरामीको परीक्षण थालिएको हो।
अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार ज्वरोका बिरामीको संख्या अत्याधिक बढेपछि नियमित बहिरंग सेवाले धान्न कठिन भएकाले क्लिनिक सञ्चालनमा ल्याइएको हो। उनका अनुसार एकै दिन बहिरंग सेवामा नयाँ एक हजार ९२२ जनासम्म बिरामीले टिकट काटेका थिए। तीमध्ये नौ सय भन्दा बढी ज्वरोका थिए।
यससँगै पुराना ज्वरोका तीन सयसम्म बिरामी पुनः परीक्षणका लागि आएकाले अस्पतालले नयाँ विकल्पको खोजी गरी बिरामीलाई सेवा दिन शुरु गरेको पौडेलले जनाकारी दिए।
अस्पतालका मेडिकल विभाग प्रमुख डा. प्रकाश खतिवडाका अनुसार क्लिनिकमा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी छन्। अहिले ज्वरोका बिरामीमा डेंगु र इन्फुलुएन्जा देखिएको छ। क्लिनिकमा रहेका स्वास्थ्यकर्मीले डेंगु देखिएमा तत्काल रगत परीक्षण र इन्फ्लुएन्जा देखिएमा थुकको परीक्षण गरी उपचार गर्न शुरु गरेको उनले बताए।
बहिरंगको मेडिकल विभागमा आउने बिरामीलाई परीक्षण गर्न पाँचजना मात्र विशेषज्ञ चिकित्सक छन्। अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले आज अस्पतालको योजना समितिको बैठक बसेर ज्वरोको क्लिनिक स्थापना गर्ने र मन्त्रालयसँग थप चिकित्सक माग गर्ने निर्णय गरेको जानकारी दिए। विशेष परिस्थिति भएकाले चिकित्सक स्वास्थ्यकर्मीलाई बिदामा नबस्न आग्रह गर्ने निर्णय पनि गरिएको उनकाे भनाइ छ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त