Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भरतपुर अस्पतालमा बिरामीकाे चाप

भरतपुर अस्पतालमा बिरामीकाे चाप

चितवन : भरतपुर अस्पतालमा आइतबार हालसम्मकै सबैभन्दा बढी बिरामीले बहिरंग सेवामा टिकट काटेका छन्। एक हजार ९२२ बिरामी अस्पताल आएकाेमा ९०० भन्दा बढी मेडिकल विभागका रहेका थिए।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार मेडिकल विभागका लागि टिकट काटेकामध्ये अधिकांश ज्वरोका बिरामी थिए। तीमध्ये धेरैलाई डेंगु र केहीलाई इन्फ्लुएन्जा भएको पौडेलले जानकारी दिए। अस्पतालका मेडिकल विभाग प्रमुख डा. प्रकाश खतिवडाका अनुसार विभागमा पाँच जना मात्र विशेषज्ञ चिकित्सक रहेका छन् ।

नयाँ ९०० र पुराना ३०० भन्दा बढी बिरामी अस्पताल आएपछि चिकित्सकले सबै बिरामी हेर्न नसकेको उनले बताए। बाँकी रहेका १०० जनालाई प्राथमिकतामा राखेर साेमबार परीक्षण गरिएको उनले जानकारी दिए। अहिलेको चिकित्सकको संख्याले यो चाप थेग्न नसक्ने खतिवडाको भनाइ छ।

सामान्य समयमा ४५० हाराहारी नयाँ र १५० पुराना हेर्दै आएकामा एकाएक दोब्बरभन्दा बढी बिरामी थपिएको तर चिकित्सक उही भएपछि अस्पतालमा धान्न मुस्किल परेको खतिवडाको भनाइ छ। चाप निकै बढेका कारण अस्पतालभित्र ‘फिवर क्लिनिक’ सञ्चालन गर्ने विषयमा छलफल भइरहेको उनले बताए।

खतिवडाका अनुसार अस्पतालभित्रका अन्तरंग सेवाका मेडिकल वार्ड र क्याबिन पनि ज्वरोका बिरामीले भरिएका छन्। करीब १२० ज्वरोका बिरामी अस्पतालमा भर्ना भएको बताइएको छ।

जिल्लाका दुई मेडिकल कलेज र २० निजी अस्पताल पनि ज्वरोका बिरामीले भरिएका छन् । स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार आइतबार साँझसम्म तीन हजार ४०० जनाको डेंगु परीक्षण गरिएकाेमा एक हजार २०६ जनामा संक्रमण देखिएको छ । डेङ्गुकै कारण जिल्लामा दुई जनाको मृत्यु भइसकेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार