Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नसर्ने रोगविरुद्ध लड्न ‘एक्सन लिनुपर्ने’ वेला आयाे

नसर्ने रोगविरुद्ध लड्न ‘एक्सन लिनुपर्ने’ वेला आयाे

काठमाडौं : नेपालमा नसर्ने रोगको खतरा दिनप्रतिदिन बढ्दै गएकाले बेलैमा ध्यान पुर्याउन विज्ञहरूले सुझाव दिएका छन्। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, एक्सन नेपाल र द युनियनले काठमाडौंमा गरेको कार्यक्रममा उनीहरूले नसर्ने रोगविरुद्ध लड्न ‘एक्सन लिनुपर्ने’ वेला आएको बताएका हुन्।

नसर्ने रोग नियन्त्रण गर्नका लागि पैरबी बैठक कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोइरालाले विकसित मुलकहरूमा नसर्ने रोग कम हुँदै गएको भन्दै नपालमा भने यसविरुद्ध कामै शुरु हुन नसकेको बताए। ‘अब पनि यसविरुद्ध काम नगरे अबको १० वर्षमा नसर्ने रोग भयावह भएर थेग्नै नसकिने अवस्थामा पुग्छ’, उनले भने, ‘सरकारले यसबारे सोच्नैपर्छ। अन्यथा नियन्त्रण हुन गाह्रो छ।’

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले नसर्ने रोगमध्येकै असाध्यै बढिरहेको क्यान्सर रोग नियन्त्रण गर्न आ–आफ्नो स्तरबाट प्रयास गर्नुपर्ने बताए। उनले भने, ‘कतिपय क्यान्सरबाट बेलैमा होशियार भएर बच्न सकिन्छ। त्यसतर्फ पनि सोच्नुपर्छ।’

यसैगरी मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराईले ‘साइलेन्ट किलर’को रुपमा रहेको मधुमेहले युवा अवस्थामै गाँज्न थालेको भन्दै नियन्त्रणका लागि सरकारी स्तरबाटै कार्यक्रम आउनुपर्ने बताइन्। अब सुर्तीजन्य पदार्थमा मात्र हाेइन ‘सुगरी ड्रिक्स’मा पनि ट्याक्स बढाउनुपर्छ’, उनले भनिन्, ‘यसले मुटु, मिर्गौला जस्ता रोग बढाउन मद्दत गरिरहेको छ।’ डाक्टरले औषधि लेखेर दिँदैमा मधुमेह नियन्त्रण नहुने उनले बताइन्। ‘रोगै लाग्न नदिनेतर्फ ध्यान दिन जरुरी छ’, उनले थपिन्।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बरालले अव्यवस्थित जीवनशैलीका कारण नसर्ने रोग बढेको भन्दै पहिले आफैँलाई सुधार्नुपर्ने बताए। ‘आधुनिक हुने नाममा चुरोट र मदिरामा लत पार्ने, ‘फास्ट फुड’ मन पराउने, विलासी भएर एक पाइला हिँड्न नखोज्ने जस्ता बानीले नसर्ने रोगलाई बढावा दिइरहेको छ’, उनले भने। सबैले आफैँबाट शुरु गर्ने हो भने यो कम हुने उनको भनाइ छ।

कार्यक्रममा एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले नसर्ने राेग बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने सुर्तीजन्य पदार्थको बिक्रीमा कडाइ गर्नुपर्ने तर्क गरे।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययन अनुसार नेपालमा ६६ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका समन्वय महाशाखा प्रमुख महेन्द्र प्रसाद श्रेष्ठ, मन्त्रालयकै गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा दिपेन्द्ररमण सिंह, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक कुन्जप्रसाद जोशी, राष्ट्रिय स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेश पोखरेल लगायतले मन्तब्य राखेका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार