भाइरल ज्वराेले अस्पतालमा बिरामीकाे चाप
लहान : अत्यधिक गर्मीका कारण सिरहामा भाइरल ज्वरो फैलिएपछि अस्पतालहरूमा थेग्नै नसक्ने गरी बिरामीको चाप बढेको छ।
जिल्लाभरि नै भाइरल ज्वरोको प्रकोप फैलिएर जिल्लास्थित स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप अत्यधिक बढेसँगै शय्या र औषधिको अभाव भएको छ। सदरमुकाम सिरहास्थित जिल्ला अस्पतालमा गर्मी बढेसँगै दैनिक १०० देखि १५० जनासम्म बिरामी आउने गरेको अस्पतालका मेसु डा. नागेन्द्रप्रसाद यादवले जानकारी दिए।
उपचारका लागि आउने बिरामीहरुमध्ये करिब ९० प्रतिशत बिरामी भाइरल ज्वरोबाटै थलिएका बिरामीहरू रहेको मेसु डा. यादवको भनाइ छ। दैनिक ठूलो संख्यामा बिरामीको चाप बढेपछि अस्पतालमा शय्याको अभावमा भुइँमा राखेरै उपचार गर्नुपर्ने बाध्यता छ।
यस्तै सिरहाको गोलबजारस्थित स्वास्थ्य चौकी भाइरल ज्वरोको बिरामीले भरिभराउन भएको स्वास्थ्यकर्मी बताउँछन्। स्वास्थ्य चौकीका इन्चार्ज सत्यनारायण यादवका अनुसार भदौको पहिलो सातादेखि दैनिक १०० को हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन्।
त्यसमध्ये करीब ७० प्रतिशत बिरामी भाइरल ज्वरोकै रहेको इन्चार्ज यादवले बताए। दैनिक बिरामीको चाप अत्यधिक बढ्ने गरेकाले भुइँमै राखेर उपचार गर्ने गरेको उनले बताए।
त्यस्तै लहानस्थित रामप्रसाद उमाप्रसाद शारदा स्मारक अस्पतालमा पनि भाइरल ज्वरोकै बिरामीको चाप बढेकाे छ। ५० शय्याको सो अस्पतालमा दैनिक १०० जति बिरामी आउने गरेकामा करीब ९० प्रतिशत बिरामी भाइरल ज्वरोकै रहेको अस्पतालका मेसु डा. सुनिल कुशवाहले जानकारी दिए।
बिरामीको चाप अत्यधिक बढेकाले शय्याको अभावमा भुइँमै राखेर बिरामीको उपचार गरिरहेको मेसु डा. कुशवाहको भनाइ छ । भाइरल ज्वरोको प्रकोप जिल्लामा फैलिए पनि डेंगु रोगको प्रकोप जिल्लामा नरहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख सिरहा अस्पतालका मेसु डा. यादवले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण