विहारमा पान मसालामाथि प्रतिबन्ध
भारतकाे विहार सरकारले पान मसाला बिक्रीमा बन्देज लगाइएको छ। शुक्रवार बसेको स्वास्थ्य विभागको उच्चस्तरीय बैठकपछि यस्तो निर्णय लिइएको बताइएको छ।
हालका लागि उक्त प्रतिबन्ध एक वर्षको लागि लगाइएको छ। अब बिहारमा पान मसालाको बिक्री, उत्पादन, भण्डारण तथा सेवन र ओसारपसार गर्न पाइनेछैन।
इन्दिरा गान्धी आयुर्विज्ञान संस्थानका वरिष्ठ चिकित्सक डा. हर्षवर्धनले सरकारको निर्णय स्वागतयोग्य रहेको बताएका छन्।
उनका अनुसार यस्तो पहलकदमीले गर्दा राज्यमा मुखको क्यान्सरका रोगीको संख्यामा कमी आउनेछ। ‘त्यसका साथै कलेज र अस्पतालका भवनबाहिर फैलिने दुर्गन्धबाट समेत छुटकारा पाउन सकिनेछ। अब खैनीमाथि समेत प्रतिबन्ध लगाउन गम्भीर मन्थन हुन जरूरी छ।’
‘विहारमा गुटखा पहिलेदेखि नै प्रतिबन्धित थियो। आहिले केही पान मसालामा राज्यमा प्रतिबन्ध लगाइएको हो’, स्वास्थ्य विभागका प्रधान सचिव सञ्जय कुमार भन्छन्, ‘प्रयोगशालामा ल्याएर जाँच गर्दा जुन पान मसालामा प्रतिबन्धित रासायनिक पदार्थ म्याग्नेसियम कार्बोनेट पाइयो त्यस्तो पान मसाला भण्डारण, सेवन, बिक्री, उत्पादन र ओसारपसारमा कानुनअनुसार एक वर्षका लागि प्रतिबन्ध लगाइएको हो।’
रजनीगन्धा, राज निवास, सुप्रिम, पान पराग, राजश्री, रौनक, सिग्नेचर, कमला पसंद, मधु पान मसाला आदिलाई स्वास्थ्य निकायले जुन २० पान मसाला कम्पनीलाई प्रतिबन्ध लगाएको छ। यी सबै पान मसालामा प्रतिबन्धित रसायन म्याग्नेसियम कार्बोनेट पाइएको थियो।
बिहार च्याम्बर अफ कमर्शका अध्यक्ष पीके अग्रवाल भन्छन्, ‘यो फैसलाको प्रभाव कहाँ र कसरी हुन्छ यो भविष्यले देखाउनेछ तर सुन्दा यो पहल उपयोगी छैन किनभने बिहारमा कुनै पान मसाला कम्पनी छँदै छैन।’
बीबीसी नेपालीबाट




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त