Health TV Online
Health TV Online
Health TV Online

महाकाली अस्पतालमा अधिकांश भाइरल ज्वरोका बिरामी

महाकाली अस्पतालमा अधिकांश भाइरल ज्वरोका बिरामी

कञ्चनपुर : भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पुग्नेमध्ये अधिकांशमा भाइरल ज्वरोको संक्रमण देखापरेको छ। उपचारका लागि पुग्नेमध्ये ७० प्रतिशत बढी बिरामीमा भाइरल ज्वरोको संक्रमण देखापरेको हो।

साउनको दोस्रो हप्तादेखि भाइरल ज्वरोका बिरामी अस्पतालमा उपचारका लागि पुग्ने क्रम शुरु भएको बताइएको छ। ज्वरो आउने, टाउको, घाँटी, हातखुट्टा दुख्ने, रुघाखोकी लाग्ने, वाकवाकी हुने, जिउ दुख्नेलगायतका लक्षण भएका बिरामीको संख्या प्रतिदिन बढ्दो क्रममा रहेको अस्पतालका सूचना अधिकारी केशव अवस्थीले बताए।

उनका अनुसार अस्पतालमा दैनिक २०० को हाराहारीमा बिरामी उपचारका लागि पुग्ने गरेका छन्, जसमध्ये ७० प्रतिशत बढी भाइरल ज्वरोका बिरामी छन्। ज्वरोको समस्या लिएर आउनेमा ज्येष्ठ नागरिक, बालबालिका र महिलाको संख्या अधिक छ। लक्षणका आधारमा भाइरलको संक्रमण भएका बिरामीको चिकित्सकले उपचार गर्दै आएका छन्।

वातावरणमा आएको परिवर्तन र दुषित खानपानका कारण भाइरल ज्वरोको सङ्क्रमण हुने गरेको छ। यसैगरी, ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्यचौकीमा समेत भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढदो छ। स्वास्थ्यचौकीमा दैनिक ६० को हाराहारीमा ज्वरोका बिरामी उपचारका लागि पुग्ने गरेका छन्। बजार क्षेत्रका निजी क्लिनिकमा भाइरल ज्वरोको उपचारका लागि पुग्ने बिरामीको संख्या उत्तिकै रहेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार